पर्सा,असार १८
वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारी र कार्य समिति सदस्यहरु बिच आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा रहेको ५ सदस्यीय अध्ययन अवलोकन भ्रमण टोली र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी र कार्यसमिति सदस्यहरु बीच वीरगञ्ज उद्योग वाणिज्य संघकै सभाकक्षमा भेटघाट एवम् अन्तरक्रिया भएको हो ।
वीरगञ्ज उद्योग वाणिज्य संघ सङ्घका कार्यवाहक अध्यक्ष हरिप्रसाद गौतमले अध्ययन अवलोकन भ्रमण टोलीलाई स्वागत गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघको ऐतिहासिक पृष्ठभूमि, गण्डक–पथलैया औद्योगिक कोरिडोर, पर्सा–बारा क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पु¥याइरहेको योगदानका बारे चर्चा गरेका थिए ।
गौतमले कूल राष्ट्रिय राजस्वको आधा हिस्सा ओगटेको यस क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन हुनुुपर्नेमा जोड दिए । जनकपुर र वीरगञ्जले एउटै प्रकृतिका समस्याहरु भोगिरहेको बताउँदै कार्यवाहक अध्यक्ष पौडेलले साझा समस्याको समाधानका लागि साझा प्रयत्नको आवश्यकता औल्याए ।
यसैगरी जनकपुर उवासङ्घका अध्यक्ष जितेन्द्र महासेठले नेपालकै सबैभन्दा पुरानो उद्योग वाणिज्य सङ्घको रुपमा परिचित वीउवासङ्घले आफ्नो स्थापनाकाल देखि नै पर्सा–बारा क्षेत्रको उद्योग, व्यापारको उन्नयनमा पु¥याउँदै आएको योगदान सराह्नीय रहेको धारणा राखे ।
विभिन्न चेम्बरको स्थलगत भ्रमणबाट चेम्बर बीचको सम्बन्ध विस्तार र एक आपसमा के कस्ता विषयहरुमा सहकार्य गर्न सकिने मुद्दाहरुको पहिचान गर्न समेत मद्दत पुग्ने अध्ययन अवलोकन भ्रमणको उद्देश्य रहेको छ । जनकपुर क्षेत्रमा १३ वटा मात्र ठूला उद्योग रहेका र साना, घरेलु उद्योग, व्यवसायको बाहुल्यता रहेकोले साना, घरेलु उद्योग, व्यवसायको प्रबद्र्धन गर्ने संस्थागत भूमिका रहने र राज्यको पनि जिम्मेवारी रहेको महासेठको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. २ का अध्यक्ष तथा वीउवासङ्घका पूर्व अध्यक्ष गणेशप्रसाद लाठले क्षेत्रीय विकासको लागि उद्योग वाणिज्य सङ्घहरु बीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताए । साथै उवासङ्घहरु बीच सम्बन्ध विस्तारको लागि प्रदेश उवासङ्घले प्रभावकारी भूमिका खेल्ने लाठको भनाई छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव मनोजकुमार दासले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघकाका पदाधिकारी, कार्य समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।