पर्सा , असार १९
रोटरी क्लब अफ वीरगंजको ३४औं पदस्थापन समारोह सम्पन्न भएको छ। शुक्रवार राति आयोजित समारोहमा सन् २०२१ र २२ को लागि डा शाश्वत प्रसादको अध्यक्षतामा गठित १३ सदस्यीय समितिको पदस्थापन भएको हो। नवगठित समितिको उपाध्यक्षमा दीपक तुल्स्यान, सचिव मुकेश अग्रवाल, कोषाध्यक्ष डा आनन्दकुमार झा, प्रेसिडेन्ट इलेक्ट पदमा पियुष गुप्ता, डाइरेक्टरहरूमा सञ्जय कुमार, रञ्जेश श्रेष्ठ, अभिषेक चौधरी, अमित गुप्ता, पारस अग्रवाल, निर्मल खत्री र सम्पादकमा सुषमा शर्मा छन्।त्यसैगरी, क्लबका मनोनीत सदस्यहरूमा वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगी, उद्योगी मनोजकुमार दास, सतीश अग्रवाल, ज्ञानदा एकेडेमीका प्रधानाध्यापक सिबी जदली छन्।



कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका थिए। कार्यक्रममा रोटरी क्लब अफ वीरगंजले अपाङ्गहरूको लागि कृत्रिम खुट्टा बनाउने शिविर सञ्चालन गरेर पर्सा, बारा क्षेत्रमा सराहनीय काम गरेको जानकारी गराइएको थियो। त्यसैगरी, कोरोना महामारीको समयमा पनि वीरगंज महानगरलाई सघाएको, शिक्षा, स्वास्थ्य तथा समाज विकासको लागि अहम् भूमिका निर्वाह गरिरहेकोबारे चर्चा गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख सरावगीले समाज उत्थानको लागि सबैले मिलेर काम गर्नुपर्ने आजको आवश्यकता रहेको बताए। उनले रोटरी क्लबको गरिमा सराहनीय रहेको र आगामी दिनमा पनि कृत्रिम खुट्टा बनाउने अभियानमा आफूले सहयोग गर्ने बताए। उनले वीरगंज महानगरले यसै वर्ष ३२ वडालाई पूर्ण खोप घोषणा गर्न लागेको र सुनौलो हजार दिन तथा गर्भवती महिला र बालबालिका, ज्येष्ठ नागरिकको सुरक्षा तथा स्वास्थ्य केन्द्रित कार्यक्रममा बर्सेनि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेकोले यसले दिगोरूपमा समाजलाई फाइदा दिने विश्वास व्यक्त गरे। महानगर प्रमुख सरावगीले ३९ वटा सूचकमध्ये महानगरका आठवटा वडाले उक्त सूचक प्राप्त गरिसकेको र अन्य वडा अझै पाइपलाइनमा रहेको जानकारी गराए।क्लबका पूर्वअध्यक्ष अरबिन्द खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल चिकित्सक सङ्घ नारायणी, नेपाल पत्रकार महासङ्घ पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, ट्राफिक कार्यालय पर्सा, नारायणी अस्पतालकी नर्स इन्चार्ज हेमा थापा, भवानी अस्पतालका सञ्चालक राम श्रेष्ठ, रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका अनिल जैसवाललगायतलाई प्रशंसापत्र प्रदान गरिएको थियो।कार्यक्रममा डा अरुणकुमार सिंह, डा उदयनारायण सिंह, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, ट्राफिक प्रहरी निरीक्षक सुमन कार्र्कीलगायतले संस्थागतरूपमा प्रशंसापत्र ग्रहण गरेका थिए। कार्यक्रमको सहजीकरण डा आनन्दकुमार झाले गरेका थिए।