वीरगञ्ज । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सट्टेबाजी गराउँदै आएको आरोपमा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होबिन्द्र बोगटीका अनुसार, हिजो खेल भइरहेको मैदानबाटै पक्राउ परेका ती तीन जनालाई आज अदालतमा म्याद थपका लागि पेश गरिने तयारी भइरहेको छ।
यसअघि पनि सट्टेबाजीमा संलग्न चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरिसकेको थियो। पक्राउ परेका व्यक्तिहरुमा भारतको कलकत्ताका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुरका अमित यादव, बिहारका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश कुमार छन्।
प्रहरी अनुसन्धानले सट्टेबाजीको कार्य मुख्यतया स्पोर्टस् बाजी र प्रोबो एपको प्रयोग गरी गराइएको प्रारम्भिक निष्कर्ष निकालेको छ। यस घटनामा भारतीय गिरोह सक्रिय रहेको र उनीहरुले एनपीएल खेललाई लक्षित गर्दै आर्थिक फाइदाका लागि सट्टेबाजीको जालो फैलाएको आशंका गरिएको छ।
प्रहरीले यो गिरोहको अन्य सदस्य र सञ्जालबारे थप अनुसन्धान जारी रहेको बताएको छ। यस्तो गतिविधिले खेलको विश्वसनीयता र निष्पक्षतामा गम्भीर प्रश्न खडा गरेको भन्दै यस विषयलाई गम्भीरताका साथ हेरिएको छ।