पर्सा, असार २४


जिल्ला प्रहरी कर्यालय पर्साले अबैधरूपमा खुद्रा सामान, केराउ र स्याउ लोड रहेका २ वटा ट्याक्टर सहित १ वटा ट्रक नियन्त्रणमा लिएको छ ।तालुक प्रदेश नं. २ प्रहरी कार्यालय, जनकपुरको सूचना संयन्त्र तथा जिल्ला प्रहरी कार्यालय पर्सासमेतको टोलीले ना.१ त. ७०४५ र ना.४ त.८५६२ नं. को ट्रयाक्टर नियन्त्रणमा लिएको हो।बीरगञ्ज महानगरपालिकाको वडा नम्बर १९ मा बीरगञ्जबाट बहुअरी गाउँतर्फ जाँदैगरेका २४ हजार केजी स्याउ लोड गरिएको ट्रक र ६ हजार केजी लोड गरिएको ट्रयाक्टर मंगलबार राति १२:०५ बजे नियन्त्रणमा लिइएको लिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।उक्त सामानको कुनै बिलबिजक नरहेको र उक्त मालसामानहरू भारततर्फ अवैधरूपमा निकासी गरी लाँदैगरेको भन्ने खुल्न आएकोले नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।नियन्त्रणमा लिइएको स्याउ, केराउ र सवारीसाधनको रू २२ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा पठाइएको उनले जानकारी दिए ।प्रहरी कारबाहीको क्रममा जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नम्बर १९ मा बीरगञ्जबाट बहुअरी गाउँतर्फ जाँदैगरेका २ वटा ट्रयाक्टरलाई रोकी जाँच गर्ने क्रममा दुवै चालकहरू ट्रक र ट्रयाक्टर छोडी तत्काल फरार भएको प्रहरीले जनाएको छ ।यस्तै, वीरगंज महानगरपालिकाको वडा नं. ८ घण्टाघरमा खुद्रा सामान बोकी बीरगञ्जबाट नारायणघाटतर्फ जाँदैगरेको जय बजरंग बली ट्रान्सपोर्टको ना २ ख ८६१७ नं.को ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी अवैधरूपमा मालसामानहरू ट्रकमा लोड गरी लाँदै गरेको अवस्थामा सोमबार राती १०.१० बजे नियन्त्रणमा लिइएको जनाइएको छ ।ट्रक रोकी जाँच गर्ने क्रममा चालक तत्काल फरार भएकोले जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।ट्रकमा भएका मालसामान तथा ट्रकको अन्दाजी मूल्य रू. २० लाख मूल्याङ्कन गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता खनालले जानकारी दिए ।