

पर्सा , असार २५
पर्साको जिराभवानी गाउँपालिकाको आठौ गाउँ सभा शुक्रबार सम्पन्न भएको छ । वडा नं ३ स्थित बितो महतो जनता माबि जितपुर नौकाटोलाको भवनमा भएको सभा आर्थिक बर्ष २०७८/०७९ को निति, कार्यक्रम तथा बजेट पारित गरि सम्पन्न भएको हो ।गाउँपालिका अध्यक्ष रामपृत महतोको अध्यक्षतामा भएको गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष उषा देबी थरुइनीले गाऊँपालिकाको कुल बजेट ३४ करोड ७१ लाख बराबरको निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन ।जसमा आय तर्फ संघ सरकारको समानिकरण अनुदान ९ करोड ८८ लाख, राजश्व बाँडफाड ६ करोड ३६ लाख, सर्शत अनुदान ११ करोड ९३ लाख, बिशेष अनुदान एक करोड २५ लाख, सम्पुरक अनुदान ८३ लाख लगायत प्रदेश सरकारको विभिन्न अनुदान एक करोड ३६ लाख रहेको छ ।उपाध्यक्ष थरुइनीले पंजुगत खर्च अनुमानित ८ करोड, चालु खर्च तर्फ साढे ५ करोड, शिक्षा तर्फ डेढ करोड, कृषी तर्फ ५० लाख, स्वास्थ्य तर्फ ५० लाख लगायतको अन्य शिर्षकमा विनियोजित बजेट समेत प्रस्तुत गरेकी थिइन ।गाउँपालिकाले शिक्षा, स्वास्थ्य तथा कृषिलाई प्राथमिकता दिएर बजेट तयार गरेको जनाएको छ। गाउँपालिका परम्परागत खेतीलाई बिस्थापित गरी कृषिमा आधुनिकिकरण गरी कृषि उत्पादन बढाउने लक्ष्य लिएको प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले वताए ।यसका साथै उनन्त जातका बिऊ बिजन उत्पादन तथा कोल्ड स्टोरको ब्यवस्थापनमा पालिकाले जोड दिने योजना बनाएको उनले वताए । भूमिगत सिचाई भन्दा बिनास हुँदै गएका सिचाईका मुहानको संरक्षण गरी प्रयोगमा ल्याइने गाउँपालिकाले जनाएको छ ।कुलत तथा बिकृतिमा लागेका यूवा शक्तिलाई पेशागत तालिम प्रदान गरी सामाजिक बिकासमा ल्याउने कार्यक्रममा पनि जोड दिएको छ । पालिका क्षेत्रमा रहेका खोलाबाट बैज्ञानिक मापदण्ड अपनाउदै नदिजन्य पदार्थ उत्खनन गरिने जनाईएको छ।गाउँ सभामा वडाध्यक्ष शेख नुमान आजम, महादेव महतो थारु, उमेश सिंह, सुबाष राउत थारु, दारा सिंह, गाउँ कार्यपालिका सदस्य, गाउँ सभा सदस्य लगायत गाउँपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।