

वीरगंज, असार २७
राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७७ बाट वीरगंजका मुकेश महतो नुनिया सम्मानित भएका छन् । नेपाली ललितकला क्षेत्रमा अनवरत रुपमा क्रियाशिल रही पुर्याएको योगदानको आधारमा ललितकला विधातर्फ वीरगंज घडिअर्वा बस्ने नुनियालाई राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित गर्नु भएको हो । नुनियालाई पुरस्कार सहित नगद रु. ५० हजार समेत प्रदान गरिएको थियो ।
विगतका दिनहरुमा यस पुरस्कारबाट अन्य जिल्लाहरुमा विभिन्न व्यक्तिहरु सम्मानित भएपनि पर्सा जिल्लामा भने प्रथम पटक यो पुरस्कार मुकेश महतो नुनियालाई प्रदान गरिएको हो ।
नुनियाले विगतका दिनहरुमा पनि विभिन्न कलाहरु प्रस्तुत गर्दै आइरहेका छन् । उनले आफ्नो पहिलो चित्रमा वीरगंजस्थित माईस्थान मन्दिरको जलरंगमा चित्रण गरेका थिए भने उक्त चित्र आईडब्लुएस २०१६ को प्रदर्शनीमा सहभागी हुन पुगेको थियो । उनले सो चित्रमा यहाँको समस्या दहेजप्रथा नामक मुर्ति समेत बनाएका थिए । जुन कि २०७२ सालको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कला प्रदर्शनीमा समेत प्रस्तुत गरिएको थियो ।
त्यसैगरी उनी अन्तर्राष्ट्रिय जलरंग महोत्सव २०१६ को चित्रकला कार्यशालामा बिसौं स्थान प्राप्त, अन्तर्राष्ट्रिय जलरंग समाज नेपालको चित्रकला प्रतियोगिता २०७४ मा तृतिय पुरस्कार लगायतका विभिन्न पुरस्कारहरुबाट सम्मानित हुंदै आएका छन् ।