बारा , असार २७


बाराको परवानीपुर गाउँपालिका बहुअरी का निवर्तमान अध्यक्ष किशोर कुमार कुर्मीको ५९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मृगौला रोगले पीडित उनको विभिनन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गाउँमै अन्तिम दाहसंस्कार गरिएको छ । उनी पञ्चायती काल देखि नै राजनीतिमा लागेका थिए । उनी गाविस अध्यक्ष हुँदा आफ्नो गाउँको विकाससँगै पार्टीलाई एउटा अलग दिशामा अघि बढाएका थिए । उनको कार्यकालमा सडक निकाल्ने, स्कूलको व्यवस्थापन, अति गरीब, निमुखा जस्ता आम नागरिकको लागि रोजगारीको व्यवस्था गर्ने लगाएतको लोकप्रिय कामहरू भएका थिए । उनी लगभग गाउँको हरेक क्षेत्रमा विकासका कामहरू गरेका थिए । उनले पार्टीलाई अगाडि बढाउँदै विभिन्न बेयक्तित्वहरुलाई जोड्दै पार्टीलाई एउटा मजबूत ठाउँमा पुर्याएका थिए । उनको निधनले पार्टीलाई निकै ठूलो क्षति भएको र आफूले आज एउटा असल मित्रलाई गुमाएको पार्टीका महाधिबेसन प्रतिनिधि जगदिश गुप्ताले बताउनुभयो । नेपाली कांग्रेस परवानीपुर गाउँपालिकाका पार्टी सभापति पुन्देव यादवले उनको निधनले आफू निःशब्द भएको र आज पूरा गाउँपालिका नै शोकमा डुबेको बताउनुभयो । गाउपलिकाका प्रत्यासी उमेद्वार लालबाबु यादवले दुःख व्यक्त गर्दै पार्टीको लागि उनले गरेका योगदानलाई कहिले पनि बिर्सन नसक्ने बताउनुभयो । यसैगरी पार्टीका युवा नेता प्रभु पटेलले दुःख व्यक्त गर्दै उनी युवाको लागि प्रेरणाको स्रोत रहेको र आफूहरु उनीबाट धेरै कुरा सिकेको बताउनुभयो । उनको अन्तिम दाहसंस्कारमा परवानीपुर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष इशवरी साह , वीरगन्ज महानगरपालिका रामगढवाका पूर्व गाविस अध्यक्ष जंगाली राउत कुर्मी, पार्टीका कार्यकर्ता लोहा सिंह लगायत गाउँका अन्य पार्टीका पार्टी प्रतिनिधि, समाजसेवी, सर्वसाधारण, लगाएको उपस्थिति रहेको थियो । उनलाई पार्टीका सबै नेता, कार्यकर्ताले पार्टीको झण्डा ओढाइ अन्तिम विदाई गरेको पार्टीका युवा नेता हरिओम पटेलले जानकारी दिएका छन ।