प्रकाश तिवारी , वीरगंज । वीरगंजको जिएचपीका कैयौं विद्यार्थीहरु लागू पदार्थ दुर्ब्यसनमा लागेका छन् । चुरोट, गुट्खा, मदिरादेखि अन्य नशाका साधनहरु विद्यार्थीहरुले प्रयोग गर्ने गरेका छन् । लागूपदार्थ विद्यालय परिसर बाहिर सेवन गर्ने कुरा भन्दा पनि त्यस प्रकारका दुर्ब्यसन विद्यालय भित्रै विद्यार्थीले प्रयोग गर्नुले विद्यालय प्रशासनको गैरजिम्मेवारी छर्लङ्ग भएको छ ।
विद्यालय समयपछि विद्यालयको बसबाट घर फर्किने क्रममा कक्षा ६ का एक विधार्थी बस भित्रै खल्तीमा राख्न मिल्ने अत्याधुनिक हुक्का तानिरहेका थिए । बसभित्र अनौठो गन्ध र धुवाँ देखेपछि विद्यार्थीहरुको सूचना पाई एकजना शिक्षकले ती विद्यार्थीलाई विद्यालय प्रमुख अगाडि लिएर गएका थिए जहाँ निजको राम्रो उपचार समेत भएको थियो ।
विद्यालयमा यसप्रकारको क्रियाकलाप गर्ने गिरोह नै रहेको एक विद्यार्थीले नाम उल्लेख नगर्ने शर्तमा बताए । मथिल्लो कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु जो शिक्षकको नजिक रहने गरेका छन्, उनीहरुले त्यसको गलत फाइदा लिने गरेको उनले बताए ।
यसबारे विद्यालयले विद्यार्थीको झोलाबाट मोबाइल र पैसा बरामद भएको र उनलाई आवश्यक निर्देशन दिएर अभिभावकको जिम्मा लगाइएको जनाउँदै लागू औषध जस्तो केही नभेटिएको बताइएको छ ।
अभिभावक संघका अध्यक्ष सन्दीप साहले जिएचपीमा यसप्रकारका गतिविधि प्रशासनिक कमजोरीका कारण सामान्य भएको भन्दै आफूहरुले यसप्रकारका गतिविधि निरुत्साहित गर्न प्रशासन समक्ष अनुरोध समेत गरेको जनाउँदै हरेक निजी विद्यालयलाई आवश्यक मापदण्ड पूरा गराउन माग गरेको बताए । विद्यालय प्रशासनले गुणस्तरीय शिक्षाका भनेर कैयौं नारा लगाए पनि यसप्रकारको घटनाले शिक्षा भन्दा कमाउने उद्देश्य प्राथमिकतामा रहेको स्पष्ट हुन्छ ।