वीरगञ्ज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, पर्सामा नयाँ प्रहरी निरीक्षक (इन्स्पेक्टर)का रूपमा विपन कार्की आउने भएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, प्रशासन शाखा, नक्सालको पत्रादेशअनुसार कार्कीलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा काजमा खटाइएको हो।
यसअघि कार्की नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, रिजर्भ, काठमाडौंमा दरबन्दी रही नगर प्रहरीमा कार्यरत थिए। अब उनले इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्।
यसअघि लागुऔषध मुद्दाका फरार अभियुक्त बाबु–छोरालाई पक्राउ गरी १० हजार रुपैयाँ लिएर छाडेको आरोप लागेपछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका तत्कालीन प्रहरी निरीक्षक समुन्नत अधिकारीसहित तीन प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाबारे गुनासो आएपछि प्रारम्भिक अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा प्रहरी निरीक्षक अधिकारी, प्रहरी हवल्दार दीपक राउत र प्रहरी जवान पपु पण्डितको संलग्नताबारे आशंका देखिएपछि उनीहरूलाई कार्यक्षेत्रबाट फिर्ता बोलाइएको हो। घुसबापत लिएको भनिएको रकमसमेत फेला परेको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत छानबिनका लागि प्रहरी नायब उपरीक्षक राजु कार्कीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
अनुसन्धान पूरा भएपछि समितिले तयार गर्ने प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाइनेछ। दोषी देखिएमा सम्बन्धित प्रहरी कर्मचारीमाथि थप कारबाहीका लागि सिफारिस गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले गुनासो आएपछि सम्बन्धित प्रहरी कर्मचारीलाई सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला बोलाइएको जानकारी दिए।