इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–३ स्थित सखुवागाछी चोकबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज १८ गते राति करिब ११ः५० बजे अस्थायी प्रहरी पोस्ट सखुवागाछी सुनसरी र ट्राफिक प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पश्चिमतर्फ जाँदै गरेको ट्रकलाई शंका लागेर रोकी जाँच गरेको थियो।
संयुक्त रूपमा खटिएको टोलीले कोशी प्रदेश १–०२–००१ ख ९८ नम्बरको ट्रक जाँच गर्ने क्रममा बन्दागोभीले छोपेर राखिएको अवस्थामा गाँजा जस्तो देखिने पदार्थ फेला पारेको हो।
प्रहरीका अनुसार ट्रकबाट ८३ वटा बोरामा रहेको २ हजार ६ सय ५५ किलो ९५ ग्राम गाँजा बरामद भएको छ। बरामद गाँजा, ट्रक तथा पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरीले जनाएको छ।
घटनामा धनकुटाको सहिदभूमि गाउँपालिका–२ बस्ने ३३ वर्षीय राजु राई (चालक) र ए.ऐ. बस्ने १८ वर्षीय सन्दिप राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिको पहिचान तथा घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।