पर्सा, असार ३०


जिल्ला प्रहरी कार्यालय पर्साले बाल विवाह गराएको कसुरमा बेहुला, बेहुलाको बुवा र बेहुलाको ससुरा सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा पकाहामैनपुर गाउँपालिका– १ धोरे बस्ने २४ वर्षीय विशाल सहनी, ६५ वर्षीय ठग सहनी र बाराको प्रसौनी गाउँपालिका– ५ बेल्हिया पनटोका बस्ने ४८ वर्षीय बेहुलाका ससुरा महेश सहनी रहेका हुन् । विशाल सहनी भन्ने बेहुला हुन् ।१७ वर्षीया किशोरी र विशालको बिहे २०७८/०३/१७ गते बारा जिल्लाको गढीमाई मन्दिरमा भएको थियो ।१७ वर्षीया बालिकाको बिहे गरिएको भन्दै गाउँले प्रहरीमा मौखित जानकारी गराएका थिए। मौखीत जानकारी पाएं लगतै जिल्ला प्रहरी कार्यालय पर्सा मातहत पर्ने प्रहरी चौकी धोरेका असई शिवशंकर शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले बेहुला विशाल सहनी, बेहुलाका बुबा ठग सहनी र बेहुलीका बुबा महेश सहनीलाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । मौखित जानकारीको आधारमा बिहे भएको १३ दिनपछि बुधबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।बाल विवाह गर्ने तथा गराउने कार्यमा संलग्न रहेकोले उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी प्रवक्ता खनालले जानकारी दिए ।मुलुकी अपराध संहिताको दफा १७३ मा २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । त्यसरी भएको विवाह स्वतः बदर हुनेछ । भने कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । पर्साका प्रहरी उरीक्षक बेलबहादुर पाण्डेले किशोरी आफैं प्रहरीको सम्पर्कमा आएको जानकारी दिए ।‘बालिकाले बस्न नचाहेपछि प्रहरीको सम्पर्कमा आएकी थिइन्, दुवै पक्षको अभिभावकलाई बोलाएर जन्मदर्ता हेर्दा बालिकाको उमेर १७ वर्ष मात्रै पुगेको रहेछ’ उनले भने ‘त्यसैले अभिभावक र बेहुलालाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई बालविवाह सम्बन्धी कसुरमा मुद्धामा अनुसन्धान भइरहेको छ।
