वीरगञ्ज, असार ३१


नेकपा एमाले निकट युवा संघ नेपाल पर्साले माधव कुमार नेपालको तस्विरसहित प्रदर्शन गरेको छ । त्यसक्रममा युवा संघका कार्यकर्ताहरुले नेपालको तस्वीरमा जुत्ताको माला समेत लगाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो । ओली नेतृत्वको सरकार ढाल्नको निम्ती माधव नेपाल लगायतका नेताहरुले अदालतसम्म पुगेर निवेदन दिनुका साथै नेपाली काँग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समेत भूमिका निर्वाह गरेको हुनाले वरिष्ठ नेता नेपालको पुत्ला दहन गरिएको कुरा यूवा संघ पर्साका अध्यक्ष महम्मद नेजामले बताए । त्यसक्रममा भएको झडपमा यूवा नेताहरु समेत घाइते भएको बताइन्छ । वीरगञ्जको माईस्थानबाट निस्केको जुलुसले आदर्शनगरमा पुगी नेता नेपालको पुत्ला दहन गरेको थियो । सो क्रममा यूवा संघ नेपालका केन्द्रिय सदस्य रवि गुप्ता, यूवा नेताहरु अकलेश साह, कृष्णा कुशवाहा, महम्मद मेराज, भोला प्रसाद यादव, कुनाल पटेल लगायतको सहभागिता रहेको थियो । यूवा संघका नेताहरुले आफ्नै सरकार ढालेर विपक्षीलाई सरकारको नेतृत्व गर्न दिएकोले अब देशव्यापी रुपमा यूवाहरुले आन्दोलनका कार्यक्रम ल्याउने र ओली सरकार ढाल्न सहयोग पु¥याउनेहरुलाई वहिष्कार गर्ने कार्यक्रम गर्ने बताएका छन् ।