वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २० हरपतगञ्ज चौकको सडकदेखि करिब पाँच सय मीटर पश्चिमको कुलाको बाटोबाट प्रहरीले चार जनलाई पक्राउ गरेको हो ।
कुलोको बाटो भएर अपरिचित मानिसहरु टाउकोमा लागुऔषध गाँजा बोकी जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक लम्सालकाअनुसार उनीहरुले बोकेको प्लाष्टिकको बोराभित्र रातो प्लाष्टिकले बेरी राखिएको चार पोकामा ५० केजी लागुऔषध गाँजा भेटिएको हो । गाँजासहित पर्साको बहुदरमाई नगरपालिका वडा नं. १ बिश्रामपुर ४० वर्षिय पारस यादव, सोही ठाउँका ५२ वर्षीय मैनादिन मियाँ, बहुदरमाई नगरपालिका वडा नम्बर ७ तिनटोलियाका ३६ वर्षीय अकवर मियाँ र सोही वडाको छप्कैया टोलका ४५ वर्षीय शिव महतो पक्राउ परेका हुन् ।
उनीहरुविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।