पर्सा , साउन ७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।यस बर्ष कोरोना भाइरस संक्रमणका कारण बृहत कार्यक्रम नगरिएको नेकपा एमाले पर्साका जिल्ला सचिव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बताए।

उनका अनुसार स्मृति दिवसका अवसरमा नेकपा एमाले पर्साको आयोजनामा बिरगंज स्थित नेकपा एमाले पार्टी कार्यालय पर्सामा अनौपचारिक कार्यक्रम राखी ४३ औं स्मृति दिवस मनाइने छ।नेपाली क्रान्तिकारी सिद्धान्तका रूपमा परिचित पुष्प लाल श्रेष्ठले आफ्नो जीवनभर जनताको स्वतंत्रताका लागि संघर्ष गरेका थिए।

बिक्रम संवत २००६ साल बैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पुष्पलालले भारतको कोलकातामा बसेर नेकपा स्थापना गरेका थिए ।१५ असार १९८१ मा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला पुत्रकारूपमा रामेछापमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि गरेका थिए ।

नेपाली कांग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचारका क्रममा निधन भएको थियो ।

पुष्पलालको स्मृति कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रभु हजारा, विश्मभर शर्मा, बिना शर्मा ,जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुर न्योपाने, पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, पत्रकार महासंघका प्रदेश महासचिव श्याम बञ्जारा,नेपाल पत्रकार महासंघ पर्साका कोषाअध्यक्ष संजिव मिश्रा, विद्यार्थी नेता शिवजी गुप्ता, बिरगंज महानगरपालिका-२२ वडा अध्यक्ष अवधकिशोर कुशवाहा , ११ का वडा अध्यक्ष प्रधुमन् सेढाई , युवा संघका केन्द्रीय सदस्य सुरेन्द्र यादव , नारायणी अस्पताल विकास समितिका सदस्य सन्तोष पासवान,खेलकुद महासचिव राम किशोर सिंह पराग,अखिल केन्द्रिय सदस्य हेमन्त तामाङ , रञ्जु दाहाल फुइयाल, अखिल जिल्ला अध्यक्ष रेयाज अंसारी ,चान्सी साह, नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य अकलेश साह, पवन पाण्डे लगायत नेकपा भातृ संगठनका नेताहरुको सहभागिता रहेको थियो।