जनकपुरधाम । मधेस प्रदेश सरकारले शहीदहरूको स्मरणमा वृक्षारोपण गरेको छ ।
आइतवार बिहान मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको नेतृत्वमा वृक्षारोपण कार्यक्रम भएको हो ।
माघ ५ गते बलिदानी दिवस मनाइएको थियो । सोही स्मरणमा आज बिहान जनकपुरको मधेस भवन परिसरमा २५ वटा वृक्षारोपण गरेको मन्त्री लेखीले बताए। उनले शहीदहरूप्रति सम्मान व्यक्त गर्दै वृक्षारोपण गरिएको बताए।
उनले भने, ‘बलिदानी दिवसको अवसरमा हामी केही दिन यता विभिन्न कार्यक्रम गर्दै आएका छौँ । आज बिहान मधेस भवन परिसरमा शहीदहरूप्रति सम्मान व्यक्त गर्दै, शहीदहरूको चीर शान्तिको कामना गर्दै मधेस भवन परिसरलाई स्वच्छ,हराभरा बनाउन वृक्षारोपण कार्यक्रम गरेका छौँ । आज २५ बिरुवा रोपेका छौँ।’
उनले शहीद प्रतिष्ठानलाई समयानुकूल बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे।