भैरहवा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक वहस आज शुक्रवार पनि जारी रहने भएको छ । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीमा बिहीवारदेखि प्रारम्भ भएको वहस हिजो नसकिएपछि आज पुनः हुने गरी हेर्दा–हेर्दैमा राखिएको थियो ।
लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतवार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । बुधवार लामिछाने अदालतमा उपस्थित भई उनीमाथिको वयान सकिएको थियो । बिहीवार सरकारी वकिलले वहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फबाट वहस हुनेछ ।
सुुप्रिम सहकारी प्रकरणमा छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरु मुद्दाका २८ जना सहित ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनी माथि उजुरी गरेको हो ।