वीरगञ्ज / वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरुले रक्सौलका अनुमण्डल पदाधिकारी तथा डिएसपीसँग शिष्टाचार भेटघाट गरेका छन् ।
भेटघाटका क्रममा वीउवासङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले रक्सौलको विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउन, रेल्वे क्रसिङ्गमा आकाशे पुलको अभावमा दुवै देशका जनताहरुले घण्टौं जाममा परी सास्ती भोग्नु परिरहेकोले यथाशीघ्र आकाशे पुलको निर्माण गर्न र नेपाल–भारत बीचको खुला सिमानाका कारण अवाञ्छित भइरहेकोले सोलाई नियन्त्रण गर्न आग्रह गर्नुभयो ।
उहाँले नेपाल र भारत दुवै देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक फाइदा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
अनुमण्डल उप–जिल्ला अधिकारी शिवाक्षी दिक्षीतले रक्सौलमा एयरपोर्ट निर्माणको लागि आफूले पहल गरिरहेको बताउनुभयो । एयरपोर्ट निर्माणको लागि स्थलगत निरीक्षण भई सकेको र निर्माण कार्य पनि चाँडै शुरु हुने बताउनुभयो ।
भेटघाटमा सङ्घका उपाध्यक्ष माधव राजपाल, सचिव प्रेमचन्द्र गोयल, सहसचिव नरेश टिबडेवाल, स्थानीय समाजसेवी महेश अग्रवाल, पत्रकार प्रणय कुमारको सहभागिता रहेको
थियो ।