बारा, साउन १२
बारा जिल्लाको अमलेखगञ्जबाट हात्तीको दारासहित तीनजना पक्राउ परेका छन् ।जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थित पूर्व पश्चिम लोकमार्गको पुल न २ नजिक जर्गा होटल अगाडि विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहत ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको दारा फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा निजगढ नगरपालिका-११ बस्ने ३४ वर्षीय सूर्य प्रताप तामाङ , ए ए बस्ने ३५ दिल बहादुर घलान र हेटौँडा उप महानगरपालिका - १३ बस्ने ३५ वर्षीय सुबास तामाङ्ग रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ३ फिट ८ इन्च लामो, १ फिट गोलो र ८ किलो ४०० ग्राम वजन भएको १ थान हात्तीको दारा बरामद गरेको छ ।बरामद दारा सहित आवश्यक कारवाहीका लागि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार पठाइएको जिल्ला प्रहरी कर्यालय बाराले जनाएको छ।
