पर्सा , साउन १३


पर्सा प्रहरीले झुक्याएर भारत लगेर बेचिएका दुई युवतीको उद्धार गरेको छ । साथै, बेचबिखनमा संलग्न दुईलाई प्रहरीले पक्राउ पनि गरेको छ ।झापा जिल्लाकी एक जना १६ वर्षीया बालिका र १ जना २० वर्षीया युवती गरी २ जनालाई पर्सा प्रहरीले उद्धार गरेको हो । भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा पुर्याई बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त गरेको पर्सा प्रहरीले मंगलबार भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी दुई युवतीको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले बताए ।साथै, उद्धार पश्चात युवतीहरुले दिएको बयानको आधारमा उनीहरुलाई भारत लगेर बेच्ने कार्यमा संलग्न दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ९ की २० वर्षीय लक्ष्मी दास र सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नं. १२ की १९ वर्षीय खुश्बु विश्वकर्मा रहेका छन् ।पर्साको बीरगञ्ज शहरमा पुर्याई अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने” प्रलोभन देखाएर विश्वासमा पारी अभियुक्तहरुले युवतीहरुलाई भारत पुर्याएको अनुसन्धानबाट खुलेको पर्सा प्रहरी प्रवक्ता खनालले बताए । बीरगञ्ज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पुर्याउने भनी झुक्याई युवतीहरुलाई अभियुक्तहरुले भारतको बिहार राज्यको छौँडादानो पु¥याएका थिए । त्यहाँ मोबाइल फोन खोसी एक कोठामा राखी भारतकै अन्य स्थानमा पठाउने तयारी भइरहेको सूचना पाएपछि भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई उद्धार गरिएको प्रवक्ता खनालले बताए ।युवतीहरुलाई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेको दुई जना महिलालाई पर्सा जिल्ला अदालतबाट बुधबार ७ दिनको म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता प्रहरी नायव उपरिक्षक खनालले बताए । यस्तै, मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न अन्य तीन जना व्यक्ति फरार रहेकोले खोजतलास भईरहेको उनले बताए ।