पर्सा,सावन १४
झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको आरोपमा एक भारतीयसहित दुई जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार भारतीय नागरिक सीता पटेलले कविता कुमारीका नामबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिएको खुलेको हो ।
झुटो विवरण देखाएर नागरिकता लिएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान थाल्दा दुवै जनालाई बुधबार बिहान वीरगन्जमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले पटेललाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको ब्यागमा जिल्ला प्रशासनबाट २०७० पुस ११ मा जारी भएको ३४–०१–७०–१०३५२ नम्बरको नागरिकता बरामद भएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
उनका अनुसार पर्साको साबिक बैरियाविर्ता दा.पु.गाविस–९ निवासी धुरुपप्रसाद पटेलकी छोरी कविताकुमारी भन्ने विवरण रहेको नागरिकताको प्रतिलिपि फेला परेको हो ।नागरिकता बनाउन बुबा बनी सनाखत गरिदिने बहुदरमाई नगरपालिका–२ निवासी ५१ वर्षीय धुरुपप्रसादलाई समेत प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।
दुवै जनालाई नागरिकता सम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।‘नक्कली बुबा बनाएर भारतीय महिलाले नेपाली नागरिकता लिएको देखिएको छ,’ प्रहरी प्रवक्तासमेत रहेका डीएसपी खनालले भने, ‘थप अनुसन्धान गर्दै जाँदा खुल्नेछ ।’