वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकामा विगत ७ महिनादेखि चल्दै आएको मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद सुल्झिएको छ ।
मेयर सिंगासन साह तेलीले प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफालाई बजेट खर्चको अख्तियारी नदिएका कारण नगरपालिकाका कर्मचारी,शिक्षक,स्वास्थ्यकर्मी लगायतले विगत ७ महिनादेखि तलबभत्ता पाएका छैनन् ।नगरपालिकामा प्रशासनिक देखि विकास निर्माणका कामसमेत ७ महिना देखि नै ठप्प छन् ।
७ महिनादेखि तलबभत्ता नपाएका कारण नगरपालिकामा रहेका २० वटै सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालयमा ताल्चा लगाएर चाबी प्रमुख जिल्ला अधिकारीलाई बुझाइदिएका कारण दुई हप्तादेखि विधार्थीहरु पठनपाठनबाट बञ्चित छन् ।
त्यहि विषयलाई लिएर विधार्थीहरुले एक महिनापहिले नगरपालिकाको कार्यालयमा समेत तोडफोड र आगजनी गर्दाै १ करोडभन्दा बढीको भौतिक क्षतिपनि भएको थियो ।
बुधबार काठमाडौंमा संघीय मामीला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र खानेपानीमन्त्री प्रदीप यादव दुवैको पहलमा मेयर तेली र प्रमुख प्रशासकीय अधिकृत मुस्तफालाई राखेर गरेको छलफलमा दुवैबीचको विवाद सुल्झाइएको खबर प्राप्त भएको छ ।
छलफलमा गत कार्तिक ८ गते भएको नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट मेयर तेलीले प्रमाणिकरण गरेका छन् । साथै संघीय मामीला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले शुक्रबार अहिलेका प्रमुख प्रशासकीय अधिकृत मुस्तफाको बहुदरमाई नगरपालिकाबाट सरुवा गर्ने र त्यहाँ अर्कै प्रमुख प्रशासकीय अधिकृत पठाउने सहमतिपनि भएको छलफलमा सहभागी जसपाका एक नेताले जानकारी दिए ।
उनले भने,‘सामान्य प्रशासनमन्त्री गुप्ता जीले भोलि(शुक्रबार)नै अहिलेका हाकिमको सरुवा गर्ने र अर्को हाकिम पठाउने सहमति भयो । नयाँ हाकीम आएपछि मेयर साबले उहाँलाई बजेट खर्चको अख्तियारी दिने सहमतिपनि भयो ।’
खानेपानी मन्त्री यादवले मेयर र प्रमुख प्रशासकीय अधिकृत दुवैको आपसी समझदारी गराएर विवाद सल्टाइएको बताए । उनले भने,‘ मैले र सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजी दुवैले पहल गरेर मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई संगै राखेर छलफल गरायौं । उहाँहरु दुवैजनाबीच आपसी सझदारी गराएर त्यहाँको विवाद सल्टाउने काम भयो ।’
मेयरको हट र आपसी विवादकारण विगत ७ महिना देखि अनिर्णयको बन्दी बनेको बहुदरमाई नगरपालिकाको विवाद सुल्झिएकोमा नगरपालिकाका स्थानीय खुशी भएका छन् ।