वीरगन्ज । छिमेकी मुलुक भारतीय आमा बुवाबाट जन्म लिएका एक छोराले नाम परिवर्तन गरी नेपाली नागरिकता लिन सफल भएका छन् ।
नक्कली कागजात पेश गरी भारतको बिहार राज्य पूर्वी चम्पारण जिल्ला चाकिया बस्ने अशोक तुलस्यानको छोरा अन्सु तुलस्यानले आफ्नो नाम परिवर्तन गरी अंतरिक्ष तुलस्यानको नामबाट नेपाली नागरिकता लिन सफल भएको तथ्य सार्वजनिक भएको छ ।
भारतीय नागरिक अशोक तुलस्यानको दुई छोरा मध्ये कान्छो छोरा भारतीय नागरिक भई विगत ३/४ वर्षदेखि थाइल्याण्ड बस्दै आएका छन् भने जेठो छोरा अंसु तुलस्यानको नाम परिवर्तन गरी अंतरिक्ष तुलस्यानको नामबाट नागरिक दिलाउन अशोक तुलस्यान सफल भएका छन् ।
अन्तरिक्ष तुलस्यानसँग बुझ्दा उनले पहिले आफू भारतीय भएको र आफ्नो सम्पति भारतमा रहेपनि आफू अहिले नेपाली नागरिक भइसकेको बताए । उनले आफ्नो वास्तविक नाम अंशु नै रहेको तर अहिले अन्तरिक्ष तुलस्यानको नामबाट यहाँ बसेर नेपाली नागरिकको रूपमा सेवा गरिरहेको बताए ।
विदेशी नागरिकहरूले नाम परिवर्तन र नक्कली विवरणको माध्यमबाट सहजै नागरिकता प्राप्त गरेको खुलासा भएपछि स्थानीयवासी र सरोकारवाला निकायहरूले नागरिकता प्रणालीमा कडाइ गर्नुपर्ने माग गरेका छन् ।
यता पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसंग बुझ्दा हामीले उजुरीको आधारमा स्थानिय निकायसंग विवरण झिकाई सम्बन्धित व्यक्तिलाई नियन्त्रण लिएर सोधपुछ गरी भारतीय दूतावासलाई पत्रचार गरी नागरिकता रद गरिने बताए साथै दण्ड र जरिवानाको लागि अदालत पठाइने बताउनु भयो ।