वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा प्रशासनिक कार्यालय राख्नका लागि मन्त्री परिषद्बाट दरबन्दी अनुमोदन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताकाअनुसार पोखरिया अस्पताललाई प्रदेश अस्पतालमा रुपान्तरण गर्नुका साथै नापी तथा मालपोत कार्यालयको उपशाखा स्थापनाका लागि मन्त्रीपरिषद्को बैठकबाट अनुमोदन भएको हो ।
मन्त्री गुप्ताले सामाजिक सञ्जाल (फेसबुक) मार्फत दरबन्दी अनुमोदन भएको जानकारी दिएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकबाट पोखरिया नगरपालिकामा नापी तथा मालपोत कार्यालयको लागि १३ वटा दरबन्दी कायम गरिएको छ ।
पर्साको पटेर्वासुगौली गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक स्थल भाठा धामको सडक कालो पत्रे गर्ने र पर्साको बहुदरमाई नगरपालिकामा मधेश विश्वविद्यालय लैजाने विषयमा पनि चाँडै निर्णय गराउने प्रतिबद्धता मन्त्री गुप्ताले व्यक्त गरेका छन् ।