पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाका होटलहरूमा मानव बेचबिखन तथा वेश्यावृत्तिमा संलग्न गराइएको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १५ स्थित होटलहरूमा चेकजाँच गर्ने क्रममा राम्रो आम्दानी हुने प्रलोभनमा पारेर महिलाहरूलाई ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य पारिएको अवस्थामा चार महिलाको उद्धार गर्दै २ जनालाई पक्राऊ गरेको हो।
उद्धार गरिएका महिलाहरूमध्ये दुई जना वीरगन्ज स्थित होटल स्मार्टबाट र दुई जनालाई बिरगंज बसपार्कमा रहेको न्यू शान्ति सैनिक होटलबाट चेकजाँच गरी उद्धार गरेको हो । घटनामा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका – १६ का ४५ वर्षिय गिनीलाल गुप्ता र छिमेकी मुलुक भारतको बिहार राज्य ग्राम भवानीपुर, वडा नं. ६ का ४० वर्षिय जय प्रकाश साहलाई नियन्त्रणमा लिई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार थप अनुसन्धान पर्सा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार मानव बेचबिखनविरुद्धको अभियान अन्तर्गत प्रहरीले होटलहरूमा निगरानी बढाइरहेको छ । प्रहरीले होटल तथा गेस्टहाउस व्यवसायीलाई कानुनी प्रावधानको पालना गर्न सचेत गराउँदै गैरकानुनी क्रियाकलापमा संलग्न भए कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।