रौतहट । काँधमा बन्दुक बोकेका दुई जनाका बीचमा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवम पूर्वखानेपानी मन्त्री अब्दुल खान र जिल्ला इन्चार्ज सेख जमसेद हिँडेको तस्बिर र भिडियो फेसबुकमा सार्वजनिक गरिएपछि प्रहरीले सोधपुछ गरेको छ । गौर नगरपालिका–६ घर भएका जनमत पार्टीका रौतहट इन्चार्ज जमसेदले बन्दुकसहितको तस्बिर र भिडियो आइतबार फेसबुकमा अपलोड गरेका थिए ।
सार्वजनिक आलोचना बढ्नुका साथै प्रहरीले पनि सचेत गराएपछि जमसेदले तस्बिर र भिडियो फेसबुकबाट हटाएका छन् ।
पूर्वमन्त्री जनमत नेता खान शनिबार जमसेदको सबगढास्थित घर आएका थिए । जनमतका केन्द्रीय सदस्य हरपल सिंह र गुजरा नगरपालिकाका इन्चार्ज मोहम्मद असबुल्लाह पनि साथै थिए । त्यही बेला दुवैतिर हतियारसहितका व्यक्ति राखेर खान र जमसेद हिँडेको देखिन्छ । हतियार प्रदर्शन गरेको भन्दै सामाजिक सञ्जालमा धेरैले जनमतका नेताहरूमाथि कारबाहीको माग गर्दै स्थानीय प्रहरी–प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपककुमार रायले जमसेदलाई बोलाएर हतियारको इजाजतबारे बुझेको बताए । उनका अनुसार घरमा हतियार सफा गर्दाको दृश्य भएको जमसेदको दाबी छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका दुवै बन्दुकको इजाजतपत्र रहेको डीएसपी रायले बताए । ‘हामीले यसरी हतियार प्रदर्शन नगर्न सचेत गराएका छौं,’ उनले भने, ‘लाइसेन्सधारी बन्दुक घरको कम्पाउन्डभित्र घुमाइएको रहेछ ।’ फेसबुकमा पोस्ट गरेको दृश्यमा भने हतियार सफा गरेको जस्तो कतै देखिँदैन । काँधमा बन्दुक राख्न लगाएर फिल्मी शैलीमा हिँडेको देखिन्छ ।
भिडियोमा जनमतका केन्द्रीय सदस्य सिंह र नगर इन्चार्ज असबुल्लाहले काँधमा बन्दुक राखेर बीचमा पूर्वमन्त्री खान र जिल्ला अध्यक्ष जमसेदलाई केही समय हिँडाएको देखिन्छ । त्यसपछि पूर्वमन्त्री खान र जिल्ला अध्यक्ष जमसेद कुर्सीमा बस्छन् । त्यति बेला सिंह र असबुल्लाह बन्दुक तेर्स्याएर अंगरक्षकजस्तै दायाँबायाँ उभिन्छन् । पार्टीका जिल्ला इन्चार्ज जमसेदले ‘राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खानसित भेटघाट’ भन्दै हतियारसहित स्वागत गरेर डुलाएको तस्बिर र भिडियो फेसबुकमा राखेका थिए ।
सामाजिक सञ्जालमा तस्बिर र भिडियो राख्नु गल्ती भएको जमसेदले बताए । ‘पाहुना आउँदा म इजाजतपत्र हतियार सफा गर्दै थिएँ । संजोग पर्न गएको हो । प्रदर्शन गरेको होइन,’ उनले भने, ‘फेसबुकबाट हटाइसकेको छु ।’ कांग्रेस मधेश प्रदेशका सञ्चार प्रमुख नितेश गुप्ताले व्यक्तिगत सुरक्षाका लागि दिइएको हतियार प्रदर्शन गर्नेमाथि कारबाही गर्नुपर्ने बताए । ‘व्यक्तिगत सुरक्षाका लागि दिइएको हतियार प्रदर्शन गर्न पाइँदैन । यो घटनामा पूर्वमन्त्रीमाथि छानबिन हुनुपर्छ,’ उनले भने, ‘हतियारको अनुमतिपत्र खारेज गर्नुपर्छ । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले प्रहरी अनुसन्धानको विषय भएकाले आफूले अहिले नै केही भन्न नमिल्ने बताए ।
केही दिनअघि मात्रै जन्मदिनमा हातहतियार प्रदर्शन गरेको भन्दै प्रहरीले सात जनालाई पक्राउ गरेको थियो । सामाजिक सञ्जाल वा सार्वजनिक स्थानमा हातहतियार प्रदर्शन गर्नेलाई कारबाही हुने कानुनी प्रावधान छ ।