वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ गादीको रंगपुरटाँडीमा नवनिर्मित आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवनको मंगलबार उद्घाटन गरिएको छ। किसानले उत्पादन गरेका सामग्रीको संकलन र बिक्री वितरण तथा भण्डारणका लागि १ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको भवनको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले चिस्यान केन्द्रको उद्घाटन गरेका हुन्।
मन्त्री सिंहले यो वर्ष कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेशमै दोस्रो स्थान हासिल गर्न सफल पटेर्वा सुगौली गाउँपालिकालाई आगामी वर्षमा पहिलो बन्ने गरी काम गर्न सुझाव दिए। पटेर्वा सुगौली गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार विकास लगायतमा उदाहरणीय काम गरिरहेको उनले बताए। मधेस प्रदेशलाई कृषि बिउ बिजनको उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएर आफ्नो मन्त्रालयले काम गरिरहेको उनले सुनाए।
संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय र गाउँपालिकाको गरी कूल १ करोड ३० लाख रुपैयाँको लागतमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवन निर्माण गरिएको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले बताए। उनका अनुसार आधुनिक कृषि बजारमा किसानले उत्पादन गर्ने तरकारी संकलन र बिक्रीवितरणका लागि ६ वटा व्यवस्थित पक्की सेड, एउटा शौचालय र कम्पाउन्ड वाल निर्माण गरिएको छ।
यस्तै किसानका तरकारी भण्डारणका लागि कृषि बजार परिसरमै १९ लाख १९ हजार रुपैयाँको लागतमा मिनि कोल्ड स्टोर(चिस्यान केन्द्र)पनि निर्माण गरिएको छ। उनका अनुसार उक्त चिस्यान केन्द्रको क्षमता १ मेट्रिक टन रहेको छ। केन्द्र भवनभित्रै स्तनपान कक्षपनि निर्माण गरिएको उनले जानकारी दिइन्। सम्भार :- अनपूर्ण पोष्ट