वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १० स्थित एक घरमा शुक्रबार प्रहरीले छापा मारेकाे छ । प्रदेश नं.२ प्रहरी कार्यालय, जनकपुरको सूचना संयन्त्र तथा जिल्ला प्रहरी कार्यालयसमेतको टोलीले शक्रबार विहान ९ बजे छापा हानेकाे थियाे ।प्रहरी कारवाहीको क्रममा उक्त घरका कोठाहरू रीतपूर्वक खानतलासी गर्दा बिभिन्न किसिमका लत्ताकपडाहरु फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।कोठामा बस्ने मानिसहरू फरार रहेको हुँदा सो लत्ताकपडाहरू बरामद गरी रू चार लाख छ हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।उक्त घरमा भारतबाट भन्सार छली ल्याइएका बिभिन्न किसिमका लत्ताकपडाहरू भण्डारण गरेको भन्ने सूचनाकाे अधारमा प्रहरीले छापा हानेकाे थियाे ।
