वीरगञ्ज । पर्सा जिल्लाको पोखरिया नगरपालिकाका युवाहरुले आर्थिक पारदर्शिता लगायत ९ बुँदे माग राख्दै आज नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । पोखरिया युवा समाजका अध्यक्ष भगवान दासको नेतृत्वमा गएका युवाहरुले नगर प्रमुख दिपनारायण रौनियारलाई ज्ञापनपत्र बुझाएका हुन् ।भ्रष्टाचार बन्द गर, पोखरिया अस्पताल व्यवस्थापन गर लगायत विभिन्न नारा लेखिएको प्लेकार्ड सहित नाराबाजी गर्दै पोखरिया बजार परिक्रमा पछि उनीहरु नगरपालिकामा पुगेका थिए । बुझाइएको ज्ञापनपत्रमा फर्जी रुपमा गरिएको टेन्डरको कागजात पारदर्शी गर्नुपर्ने, जिल्ला उचाञ्गल रामदेव कलवार उच्च माध्यमिक विद्यालय पोखरियाको खाता तथा प्रह सम्बन्धि समस्या समधान गर्नुपर्ने, हरेक वडामा खराब भएको बटो तुरुन्त मर्मत सम्भार गर्नुपर्ने, पोखरिया नगरपालिकाले दिने सम्पूर्ण आर्थिक तथा प्रशासनिक सेवा कार्यालय भित्रबाट दिने व्यवस्था हुनुपर्ने र आर्थिक वर्ष ०७७-७८ को आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने उनीहरुले माग गरेका छन् । पोखरिया युवा समाजका अध्यक्ष दासका अनुसार ७ करोड रुपैयाँ बरारका योजनामा अनियमितता भएको आशंका युवाहरुले गरेका छन् । ‘गोप्य टेन्डर मार्फत नगरपालिकामा विभिन्न काम भएका छन् । आफ्ना मान्छेलाई काम दिईएको छ ।’ उनले भने ‘त्यसमा अनियमितता भएको आशंका छ, त्यसको हिसाब किताब पारदर्शी हुनुपर्छ भन्ने हाम्रो माग हो ।’उनीहरुका अनुसार पोखरिया अस्पतालमा औषधि उपचार पाउन समस्या छ, भने विद्यालयको खाता सञ्चान हुन सकेको छैन । कर्मचारी नियुक्ती गर्दा पनि नगर प्रमुखले आफ्नो मानिसलाई राखेको आरोप उनीहरुले लगाएका छन् ।


यस विषयमा नगर प्रमुख रौनियारसंग बुझ्नका लागि सम्पर्क गर्दा उहाँसंग सम्पर्क हुन सकेन।