

बिरगंज । आज २७ औँ विश्व आदिवासी दिवस नेपालमा पनि आदिवासी जनजाति समुदायको हक अधिकारमा जोड दिएर मनाइँदै छ। सन् १९९४ देखि मनाइँदै आएको दिवसको यस वर्षको नारा ’कसैलाई पछाडि नछोडौँ, आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नारासहित तय गरिएको छ ।यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताउनु भएको छ । आदिवासी दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले संसार भरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गर्नुभएको छ ।नेपालले सन् २००७ सेप्टेम्बर १३ तारिखमा आदिवासीहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र त्यस अनुसार महासन्धिलाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।सन् १९९४ मा संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्ट ९ लाई अन्तरार्ष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेपछि नेपालमा प्रत्येक वर्ष यो दिवश मनाउन थालिएको हो। आफ्नै कला , भाषा, भेष भूसा, संस्कार संस्कृतिले समृद्ध आदिवासीहरुले आफ्नो हक अधिकार , पहिचान र उत्थानका लागि सकरात्मक सन्देश दिन यो दिवस मनाउने गरिन्छ।