बिरगंज ।पर्साको पोखरिया नगरपालिकाको भ्रस्टाचारविरुद्ध बुधवार पोखरिया युवा समाजले नगरपालिका अगाडि प्रदर्शन गरेको छ । गत सोमवार नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियारलाई युवा समाजले ९ बुँदे ज्ञापनपत्र बुझाउँदै दुई दिनभित्र माग पूरा गर्न आग्रह गरेको थियो । तर दुई दिनभित्र सो माग पूरा नगरिएको भन्दै युवा समाजले प्रदर्शन गरेको छ। प्रदर्शनपछि नगरपालिका पुगेको समाजको टोली नगरप्रमुख, उपप्रमुखसहित कर्मचारीहरू अनुपस्थित भएपछि त्यहाँ उपस्थित शिक्षा शाखा प्रमुख विजयकुमार झासँग भेटेका थिए । उनीहरूले सो क्रममा झालाई अनुपस्थित कर्मचारीहरूको अनुपस्थितिको हाजिर गर्न लगाएका थिए। युवा समाजका सुजीत गिरीको नेतृत्वामा गएको टोलीले प्रदर्शन गरेका थिए ।टेन्डर कागजात पारदर्शी गर्नुपर्ने, जिल्ला उच्चाङ्गल रामदेव कलवार नमूना विद्यालयको खाता र प्रधानाध्यापक नियुक्तिसम्बन्धी समस्या समाधान गर्नुपर्ने, बिग्रिएका सडक मरम्मत गर्नुपर्नेलगायत ९ बुँदे माग पोखरिया युवा समाजले राखेका छन् ।