बिरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ६ मधोपुरमा निर्माण भएको वडा कार्यालयको नवनिर्मित भवन आज एक कार्यक्रम बीच उद्घाटन सम्पन्न भएको छ । करिब ४२ लाखको लागतमा सो भवन निर्माण भएको वडा अध्यक्ष रामअजोध्य पटेलले बताउनु भएको हो । भवनको उद्घाटन गर्दै अध्यक्ष पटेलले आफ्नो भवन आज देखि सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै अब यस वडा बासीको लागि सेवा दिनमा धेरै सहज भएको बताउनुभयो । वडाको आफ्नै भवनमा निर्माण भईसकेपछि आफू सिंहदरबार मैं आएको जस्तो प्रतिक्रिया दिनुभयो ।



अध्यक्ष पटेलले आफ्नै कार्यकालमा यसको माथि थप गरेर दुईतले भवन निर्माण गर्ने योजना रहेको बताउनुभयो । वहाँले यस उपलब्धि हासिल गर्नमा यस वाडका सबै राजनीतिक दल, समाजसेवी, युवा बुद्धिजीवी, वडा सदस्य, कर्मचारी लगाएतको ठूलो सहयोग रहेको र यसको लागि धन्यवाद दिँदै आउने दिनहरुमा विकास निर्माणको कार्यमा सहयोग गरिदिन आग्रह समेत गर्नुभयो । सचिवले नयाँ भवन निर्माण भईसकेपछि हामी कर्मचारीहरुलाई पनि काम गर्नमा सजिलो भएको खुशी व्यक्त गर्नुभयो । यस कार्यको लागि वडा बासीहरुलेपनी वडा अध्यक्ष पटेललाई धन्यवाद दिदै वडाको विकासको कार्यहरूलाई अगाडि बढाउँदै जन सुझाव दिएका थिए ।एक हाल ,दुई रुम र १ /१ वटा बाथरूम र चर्पी सहित निर्माण भएको वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य प्रह्लाद गिरी , मन्जुर अंसारी , गाउँपालिका अध्यक्ष जालिम मियाँ , उपप्रमुख विश्मिलाह खातुन , सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जैसवाल , गाउँपालिका सम्पूर्ण वडा अध्यक्षहरु लगायत सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।