

वीरगंज, १७ कात्तिक
वीरगंज(ठोरी निर्माणाधीन हुलाकी सडकको काम गुणस्तरहीन भएपछि अनुगमनको माग गर्दै स्थानीयले सडक निर्माण अवरुद्ध गरेका छन् ।
ठोरी वडा नं ३ अन्तर्गत ढुङ्गे बजार क्षेत्रमा कालोपत्रेको अन्तिम ‘लेयर’ पिच गरेको दुई दिन नबित्दै उप्किएपछि स्थानीयले विराध गरेका हुन् । दशैंको बेला स्थानीय बासिन्दा आआफ्नै घरमा व्यस्त रहेको मौका छोपी निर्माण कम्पनीले हतार(हतारमा कालोपत्रे गरेको र अन्तिम ‘लेयर’ पिच हातले खोस्रिंदा उप्किने अवस्थमा रहेको ढुङ्गे बजारका बासिन्दाले बताएका छन् । मोटरसाइकल गुड्दासमेत भत्कने र औजारविना हातले खोस्रदा नै उप्किने किसिमको गुनस्तरहिन कालो पत्रे रहेको स्थानीय विरमान श्रेष्ठले बताएका छन् । हुलाकी सडक निर्माण परियोजनाका प्राविधिकहरूका अनुसार सडकमा डबल कोड अर्थात् दुई लेयरको कालोपत्रे हुन्छ। पहिलो लेयरभन्दा दोस्रो अर्थात् अन्तिम लेयर निकै मिहीन र एकापसमा जाम भएको हुनुपर्छ। तर ठोरी क्षेत्रको हुलाकी सडकमा पहिलो लेयरभन्दा दोस्रो लेयर बुरबुराउँदो, छिद्र भएको र एकापसमा जाम नभएको अवस्थामा छ । कालोपत्रेको अन्तिम लेयर पिच गर्ने बेला मेशिनमा आएको खराबीका कारण केही ठाउँमा पिच उप्किएको बानियाँ निर्माण सेवामा कार्यरत एक प्राविधिकले खुलासा गरेका छन । तर निर्माण कम्पनीका फिल्डमा खट्ने अधिकारीहरू भने आफ्नो कमजोरी लुकाउन गुणस्तरहीन कामलाई नै सदर गराएर अगाडि बढ्ने पक्षमा देखिएका छन् । सो क्षेत्रका क्षेत्रका बासिन्दाले मुख्यतः फिल्डमा खट्नेहरूकै दोष रहेको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी र हुलाकी सडक परियोजनाका अधिकारी फिल्डमा आएर निरीक्षण गर्नु पर्ने साथै दोषीमाथि कारबाई गर्नुपर्ने माग राखेका छन् । उक्त सडक निर्माण बाणिया निर्माण सेवा प्रलि मकवानपुरले गरिरहेको छ । निर्माण कम्पनीका फिल्ड सुपरभाइजर उद्धव न्यौपानेले भने सडक निर्माण कार्य निर्धारित मापदण्ड अनुसारको गुनस्तरिया रहेको दावि गरेका छन् । केही खाइपल्केका व्यक्तिहरुले पैसाको लागि काममा अवरोध गरेको उनको आरोप छ । यस सम्बन्धमा पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तमाङगले पछिल्लो समस्या बारे आफुलाई कुनै पक्षबाट पनि कुनै जानकारी नआएको भन्दै यथाशिघ्र बास्तविक्ता बुझ्ने र कारवाई प्रकृया अगाडि बढाइने बताएका छन् । उनले यस अघि पनि प्रथम लेयर कालो पत्रे गर्ने बेला आफुलाई गुनासो आएको र निर्माण कम्पनीका ठेकदार, स्थानीय प्रहरी प्रशासन र स्थानीय पालिकालाई समन्वय गरि समस्या समाधान गरिएको स्मरण गराए ।