

बीरगञ्ज । पर्सा प्रहरीले अवैध हुण्डी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । अवैध हुण्डी रकम सहित प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं २ बाट दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय बृजकिशोर गिरी र पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ घर भएका ५० वर्षीय रामपुकार पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट नियमित चेकिङ्गमा खटिएको टोलीले हुण्डी रकम लिएर नेपालतर्फ आएका उनिहरुलाई रोकी चेकजाँच गर्दा अवैध हुण्डी रकम सहित पक्राउ गरेको छ । प्रहरीले उनिहरुको साथबाट भारतको बिहारस्थित ईनर्वा बजारबाट ल्याएको १० लाख ६३ हजार नेपाली रुपैयाँ र १ हजार ६ सय भारतिय पैसा बरामद गरेको छ । नम्बर प्लेट नभएको मोटरसाईकलमा आएका उनिहरुलाई ईलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ पक्राउ गरिएका गिरी र पटेललाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरीयामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन–२०७५ बिरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।