जनकपुर । मधेश प्रदेश सरकारको खेलकुद तथा कल्याण मन्त्रालयले समाज कल्याणसँग सम्बन्धित अधुरा रहेका संरचनाहरुको विवरण बुझाउने समयसीमा तेस्रो पटक थप गरेको छ।
यसअघि २०८१ साउन १४ गते पहिलो पटक र २०८१ मंसिर १५ गते दोस्रो पटक सूचना जारी गर्दा पनि केही सरोकारवालाहरुले विवरण नबुझाएकाले र विभिन्न स्थानबाट समय थप गर्न माग आएकाले मन्त्रालयले पुनः समय थप गरेको हो।
अब सम्बन्धित सरोकारवालाहरुले २०८२ वैशाख ९ गतेदेखि १५ गतेभित्र आफूलाई पायक पर्ने निम्न कार्यालयहरुमा संलग्न ढाँचा बमोजिमको विवरण बुझाउन सक्नेछन् ।
१. सामाजिक विकास इकाइ कार्यालय राजविराज, सप्तरी।
२. सामाजिक विकास इकाइ कार्यालय जनकपुरधाम, धनुषा।
३. सामाजिक विकास इकाइ कार्यालय मंलगवा, सर्लाही।
४. व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, गौर रौतहट ।
५. सामाजिक विकास इकाइ कार्यालय विरगंज, पर्सा ।
मन्त्रालयले अधुरा रहेका संरचनाहरुको पहिचान गरी आवश्यक व्यवस्थापन गर्नका लागि विवरण माग गरेको जनाएको छ। समयसीमाभित्र विवरण उपलब्ध गराई सहयोग गर्न मन्त्रालयले सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

