वीरगञ्ज । पर्सा जिल्लाको पोखरीया नगरपालिकामा विगत ४ दशकदेखि अड्किएको नगरविकास समितिको पहिलो चरणको काम लगभग सम्पन्न भएको छ । नगर विकास समिति पोखरियाका अध्यक्ष एवम् नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियारको अध्यक्षतामा जग्गा धनी र नगरविकास समितिबिच अर्थपूर्ण छलफल भएको छ । मंगलवार बसेको बैठकमा झण्डै ४ दशकदेखि रोकिएको नगर विकास समितिका काम कारवाहीलाई अगाडी बढाउनेबारे छलफल भएको छ । ४० वर्षदेखि अड्किएको स्थानीयको ६२ बिघा जग्गाले अब निकासा पाउने पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले बताइन् । उपप्रमुख खातुनका अनुसार उक्त जग्गाको निकास गरेर सम्बन्धित जग्गाधनीलाई फिर्ता गर्न सके अहिलेसम्मै सबैभन्दा ठूलो उपलब्धी हुने छ । खातुनले भनिन्, ‘विगत लामो समयदेखि अड्किएको जग्गाका कारण नगरपालिकाको विकासका साथै जनताहरुको आर्थीक समृद्धि हुन सकिरहेको छैन । आफ्नै जग्गा भएर पनि व्यक्तिगत रुपमा प्रयोग गर्न नपाउँदा समस्या भइरहेको छ ।’ बैठकले पूर्व नगर विकास समिति र कृषकहरुबिच भएको सम्झौताबमोजिम विभिन्न शर्तमा जग्गा एकिकृत विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । जग्गा बिक्रि नगरेका किसानको जग्गा ३० प्रतिशत योजना विकासका लागि दिने र बाँकी ६० प्रतिशत जग्गा विकसित घडेरी गरी जग्गाधनीलाई फिर्ता दिने, मोहीको हकमा मोहीयानीलाई ५० प्रतिशत र जग्गा धनीलाई ५० प्रतिशत जग्गा बाँडफाँड गर्नुका साथै दुवैमा ३० प्रतिशत जग्गा कट्टा गरी विकासित घडेरीको रुपमा फिर्ता गर्ने र जग्गा बिक्रि गरी भुक्तानी लिएका किसानलाई विक्रि गरेको जग्गाको २० प्रतिशत जग्गा जग्गाधनीलाई दिने र उक्त जग्गा धनीसँग प्रति कट्टा ५ हजार १ सय रुपैयाँका दरले लिने शर्तमा उक्त कार्यक्रम सञ्चालन हुने नगर विकास समितिका अध्यक्ष रौनियारले बताए । त्यसैगरी बैठकले नगर विकास समितिमा जग्गाधनीहरुमध्येबाट ५ जनालाई सदस्यमा मनोनित गरेको छ । पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा निवासी राजु गिरी र पारस ठाकुर, वडा नम्बर ४ पोखरियाका प्रशान्त केशरी, र वृक्षा महतो र वडा नम्बर ५ सतवरियाका इदिस मियाँलाई सदस्यमा मनोनित गरिएको नगर विकास समितिका पूर्व अध्यक्ष कृष्ण प्रसाद चौहानले जानकारी दिए । बैठकमा पर्सा क्षेत्र नम्बर ३ का निलम्बीत सांसद हरिनारायण रौनियार, लोकतन्त्र समाजवादी पार्टीका नेता नेजामोद्धिन समानी, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कोइराला, वडा अध्यक्षहरु, जिल्ला समन्वय समितिका प्रतिनीधि, मालपोत कार्यालयका प्रतिनीधि, जिल्ला बन कार्यालयका प्रतिनीधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनीधिसहित जग्गाधनी एवम् राजनीतिक दलका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।



