सर्लाही । सर्लाहीमा रहेको डिभिजन वन कार्यालयले बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापासहित ६ जनाविरुद्ध वन मुद्दा दर्ता गरेको छ । सागरनाथ वनको जग्गा अतिक्रमण गरी निजी ताल निर्माण गरेको अभियोगमा जिल्ला अदालत मलङ्गवामा मुद्दा दायर गरेको सहायक वन अधिकृत रामप्रवेश शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार निलम्बित मेयर थापासहित उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन जिल्ला समन्वय समिति प्रमुख मिथुर चौधरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेल, लेखा अधिकृत विश्वराज पोख्रेल र नगरपालिकाका तत्कालिन इन्जिनियर सागर पौडेलविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरूसँग एक अर्ब ४९ करोड ३९ लाख ४३ हजार तीन सय ३७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको शाहले जानकारी दिनुभयो ।
बागमती नगरपालिका वडा नम्बर ४ र १२ मा पर्ने सागरनाथ वन विकास परियोजनाको स्वामित्वमा रहेको जग्गा नगरपालिकाका कर्मचारी र पदाधिकारीको मिलेमतोमा निजी ताल निर्माण गर्न स्वीकृति दिएको अभियोगपत्रमा उल्लेख छ ।
गैरकानूनी रूपमा ताल निर्माण गरेको अभियोगमै २०८१ साल जेठ २९ गते निलम्बित मेयर थापा र उपमेयर मोक्तानसहितलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा विचाराधीन छ । थापा पालिका चुनावमा नेकपा (माओवादी केन्द्र) बाट मेयरमा निर्वाचित हुनुभएको थियो ।