वीरगञ्ज । भारतको उडीसामा रहेको केआइआइटी विश्वविद्यालयमा मृत भेटिएकी वीरगञ्जकी प्रिसा साह विधालयस्तरदेखि नै हक्की स्वभावकी रहेकोले आत्महत्या गर्नसक्ने अवस्थालाई उनका परिवार र विद्यालयले स्वीकार नै गर्न सकेका छैनन् ।
उनले अध्ययन गरेको वीरगञ्जको विद्यालयका शिक्षकले नाम नबताउने शर्तमा प्रिसा पढाई र तेक्वान्दोमा अब्बल रहनुका साथै कसैको हेपाहा प्रवृत्ति नसही जवाफ फर्काउने स्वभावकी र कुशल व्यवहारकी रहेकोले घटना शंकास्पद भएको बताए ।
उनले मृत फेला परेकै दिन आफ्नो घरपरिवारमा फोन गरेर परीक्षा सकेलगत्तै फर्किने टिकटको व्यवस्था गरिदिन परिवारसँग आग्रह गरेकी थिइन् ।
वीरगञ्जमा विद्यालयस्तरको अध्ययन सकेर उच्च शिक्षाका लागि काठमाडौँ पुगेकी साहले केएमसी कलेजबाट प्लस टु पास गरेर करिब एक वर्ष पहिले केआइआइटी विश्वविद्यालयमा आफ्नो अध्ययन सुरु गरेकी थिइन् ।
केआइआइटीमै अध्ययनरत वीरगञ्जकी अर्की छात्राले कलेजमा पनि उनी अध्ययनमा केन्द्रित रहेकी र व्यवहार पनि राम्रो रहेको बताइन्। आफ्नो परीक्षा सकेर वीरगञ्ज आइपुगेकै दिन घटनाबारे आफूले थाहा पाएको उनले बताइन् । घटना थाहा पाएपछि आफू स्तब्ध बनेको उनले सुनाइन्।
संस्थागत विद्यालयहरूको संस्था एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठले मृतक साहका बुवासँग कुरा भएअनुसार कलेजमा उनी बस्ने होस्टेल कोठाकी साथीसँग सानो विवाद जस्तो परेपछि उनले कलेज प्रशासनसँग आग्रह गरेर उनी अर्को रुम अर्थात होस्टेलको चौथो तल्लामा सिफ्ट भएकी थिइन् जुन कोठामा मृतक साहसँगै उनका दुई सिनियर छात्राहरू पनि बस्थे ।
तर एक तेश्रो वर्ष र अर्की चौथो वर्षको विधार्थी भएको र अन्तिम परीक्षा दिइसकेपछि उनीहरू केही समय पहिले आ-आफ्नो घर फर्केपछि मृतक साह आफ्नो कोठामा एकलै रहेको बेला उक्त घटना भएको बताइएको छ ।
रामराज श्रेष्ठको प्रिसाका बुवासँग अबेर राति कुरा भएअनुसार उनीहरूका परिवार घटनास्थल अर्थात कलेजमा पुगिसकेको र पोस्टपार्मटमपछि उनको भारतको उडिसामा आजै दाह संस्कार गरिने पनि बताइएको छ ।
परिवारका सदस्यहरू राति अबेर उडिसा पुगेकाले कलेज प्रशासन र अन्य विधार्थीहरूसँग आज भेट्ने र जानकारी लिने बुझिएको छ ।