वीरगन्ज १८ कार्तिक : २ महिनादेखी पर्साको पोखरिया जिल्ला अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा. अनिल यादव बिदामा बस्दा अस्पतालको सेवा प्रवाहमा असर परेको छ । वडा नं. ४ पोखरिया बजारस्थित रहेको अस्पतालका मेसु डा. यादव अध्ययन बिदामा रहेकोले अस्पतालको सेवा प्रवाह लथालिंग भएको छ । अस्पताल पुग्ने गर्भवती महिलालगायतका बिरामीलाई डाक्टर नभेट्ने, सेवा प्रवाह लथालिंग भएको गुनासो बढेपछि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेतृत्वको एक टोलीले अनुगमन गरेको छ । प्रमुख प्रशासकिय अधिकृत अमितकुमार गिरी नेतृत्वको टोलीले अस्पतालमा छड्के अनुगम गरेको हो । अनुगमनको क्रममा अस्पतालका मेसु डा. यादवसहितका अधिकांश डाक्टरहरुको काम गर्ने समयतालिका नबनेको, अस्पतालका डाक्टर र कर्मचारीहरु हाजिरीसमेत नगर्ने गरेको, अस्पतालको सरसफाईको अवस्था दयनिय रहेको प्रमुख प्रशासकिय अधिकृत गिरीले बताए । अस्पतालमा अनुपस्थित डाक्टर तथा कर्मचारीसंग प्रमुख प्रशासकिय अधिकृत गिरीले स्पष्टिकरणसमेत सोधेका छन् ।