काठमाडौं । दलित उत्थान विकास प्राधिकरण गठनको प्रक्रिया अघि बढेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताका अनुसार दलित समुदायको सशक्तीकरण गर्ने संरचनालाई एकीकृत गर्न प्राधिकरण गठनको प्रक्रिया अगाडि बढाइएको हो ।
मन्त्री गुप्ताले ‘दलित, उपेक्षित, उत्पीडित वर्गको उत्थान तथा विकास प्राधिकरण’ गठनको प्रक्रिया अघि बढेको जानकारी दिए । प्राधिकरण गठनको सन्दर्भमा राष्ट्रिय दलित आयोग र अर्थ मन्त्रालयबाट साकारात्मक धारणा तथा राय सुझाव प्राप्त भइसकेको उनले बताए ।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।
मन्त्री गुप्ताका अनुसार संविधानको धारा ४० मा उल्लेख गरिएको दलितको हक कार्यान्वयन गर्न मन्त्रालयले विधेयक निर्माण प्रक्रिया अगाडि बढाएको छ । ‘दलित समुदायको अधिकार तथा विकासम्बन्धी विधेयक’ ल्याउने पनि उनको प्रतिबद्धता छ ।
यो विषय सरकारको वार्षिक नीति तथा कार्यक्रममा समेत समेटिएको उनले बताए ।
दलित समुदायको सशक्तीकरण गर्ने संरचनाहरूलाई एकीकृत गर्ने लक्ष्य लिएकाले कानुन निर्माणको काम अघि बढ्ने विश्वास उनले दिलाए ।
मन्त्री गुप्ताले प्रस्तावित दलितको हक अधिकार तथा विकास ऐन तर्जुमा सम्बन्धमा अवधारणापत्र तयार गरी संघीय मामिला मन्त्रालयले राय सुझावका लागि राष्ट्रिय दलित आयोगमा पठाइएको पनि जानकारी दिए ।