धनुषा । नेकपा (एमाले) धनुषाको जिल्ला नेतृत्वको लागि आज चुनाव हुँदै छ । एमाले धनुषाको ८औँ जिल्ला अधिवेशनको बन्दसत्रमा नेतृत्वको लागि सहमति नभएपछि चुनावी प्रक्रिया अघि बढाइएको हो ।
दुवै पक्षले आफ्नो अडान नछाडेपछि नेतृत्व चयन चुनावी प्रक्रियामा गएको बताइएको छ । एमाले केन्द्रीय सचिव रघुवीर महासेठ र जिल्ला इन्चार्जसमेत रहेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले सहमतिको लागि प्रयास गरेका थिए । तर, उमाशंकर अगरागरिया र प्रदेश सभामुख रामचन्द्र मण्डल पक्ष सहमत नहुँदा चुनावी प्रक्रिया सुरु भएको हो ।
सुरुमा जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष राजकिशोर यादवसहित उपाध्यक्ष भोला यादव, सचिव तेजनारायण यादव, लक्ष्मीनारायण यादव र सन्तोष यादव आकांक्षी देखिएका थिए । तर, सहमतिको प्रयास असफल भएपछि महासेठ–महतो समूहको तर्फबाट अध्यक्ष पदमा भोला यादव र अरगरीया–सभामुख मण्डल समूहबाट लक्ष्मीनारायण यादवलाई अध्यक्षमा उम्मेदवार बनेका छन् ।
भोला यादवको टिममा उपाध्यक्षमा तेजनारायण यादव, सचिव पदमा दीपनारायण ठाकुर दीपन, उपसचिव पदमा सविन विक्रम थापा, उपसचिव महिलामा रुका कुमारी मिश्रले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, लक्ष्मीनारायणको टिमबाट उपाध्यक्षमा जयप्रकाश सोनरैत, सचिवमा धीरेन्द्रकुमार मण्डल, उपसचिवामा सुरेश ठाकुर, उपसचिव महिलामा किरण कापरले उम्मेदवारी दिएका छन् ।
अधिवेशनमा ६५० प्रतिनिधिहरू सहभागी छन् । अधिवेशनबाट अध्यक्षलगायत पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिने निर्वाचन समितिले जनाएको छ ।