धनुषा । नयाँ नेतृत्व चयनका गर्न सुरु भएको नेकपा एमाले धनुषाको अधिवेशनमा दुई समूहबिच झडप भएपछि मङ्गलबारका लागि तय भएको मतदान स्थगित भएको छ ।
मङ्गलवार बिहान १० बजेदेखि मतदानको कार्यतालिका सार्वजनिक भएको थियो । तर, उम्मेदवारी दर्तामै धाँधली भएको भन्दै विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै जाँदा झडपको रूप लिएको हो । स्थिति सहज नभएपछि मङ्गलवारका लागि तय भएको मतदान स्थगन गर्नुपरेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशन स्थलमा एकपक्षले अर्को पक्षलाई कुर्सी हानाहान गर्दा ३ प्रहरीसहित ५ जना घाइते भएका छन् । एमालेतर्फ सत्यनारायण महासेठ र महेश दास घाइते भएका हुन् । निर्वाचन समितिले एकपक्षीय रूपमा काम गरेको भन्दै एक पक्ष धर्ना बसेपछि अर्को पक्षले विरोध गर्दा पहिलो पटक झडप भएको थियो । त्यसपछि जसपाका विद्यार्थी नेता समेत अधिवेशनमा पुगेपछि दोस्रो पटक पुन झडप भएको थियो ।
जिल्ला अध्यक्ष राजकिशोर यादवले रघुवीर महासेठ आफै अधिवेशन स्थलमा गएर निर्वाचन समितिलाई प्रभावमा पार्न खोजेपछि विवाद बल्झिएको बताए ।
महासेठले निर्वाचन समितिलाई प्रभावमा पारेपछि विवाद भएको हो’, अध्यक्ष यादवले भने । निर्वाचनका क्रममा धाँधली गरेको भन्दै अध्यक्ष पदमा उम्मेदवारी दिएका लक्ष्मी यादवको समूह न्यायिक छानबिनको माग गर्दै धर्ना सुरु गरेको थियो । एमाले धनुषाको नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो ।
एमाले केन्द्रीय सचिव रघुवीर महासेठको समूह र नेता उमाशंकर अरगरिया समूह गरी दुई समूहले अलगअलग प्यानल बनाएर उम्मेदवारी दिएका थिए । महासेठ समूहबाट भोला यादवले अध्यक्षमा उम्मेदवारी दिएका थिए भने उमाशंकर अरगरिया र सञ्जीव झाको समूहबाट लक्ष्मी यादवले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
धर्नामा बसिरहेको बेला अर्को समूहले आफूमाथि आक्रमण गरेको अध्यक्षका उम्मेदवार लक्ष्मी यादवले बताए ।
उनले भने, ‘हाम्रो पार्टीमा पदाधिकारीमा नोमिनेशन दिनका लागि पार्टीको बेग्लै नीति छ, त्यो नीतिमा अनुसार रहेर जिल्लाको पदाधिकारीमा उम्मेदवारी दिन पाइन्छ । तर यो नीति विपरीत उम्मेदवारी पर्दा पनि निर्वाचन समितिले त्यसको बेवास्ता गरी मतदानको प्रक्रिया अगाडि बढाएको थियो, योसँगै अन्य पाटोमा पनि एकपक्षीय गतिविधि गरिरहेको धेरै प्रमाणहरू भेटिएपछि हामीहरू त्यसको न्यायिक छानबिनको माग गर्दै धर्ना सुरु गरेका थियौँ । यही बेला हामीसँग विवाद गरियो ।’
कमजोर भएपछि विवाद
दुवै समूहबाट प्यानल नै खडा गरेर उम्मेदवारी परेपछि धनुषामा कार्यकर्ता तानातानको अवस्था भएको एमाले एक नेता बताउँछन् । यही क्रममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि साँझमा दुवै समूहका उम्मेदवारले आफ्नो शक्ति परीक्षणका लागि रात्रीभोजको आयोजना गरेका थिए ।
भोजमा लक्ष्मी यादव समूहको शक्ति परीक्षण कमजोर देखिएको अर्को पक्षको भनाइ छ । अधिकांश कार्यकर्ताहरू भोला यादवको भोजमा गएपछि आफूहरूको प्यानल विजयी नहुने आँकलन लक्ष्मी यादव समूहले गरेर बखेडा झिकेको लक्ष्मी यादव समूहको भनाइ छ । दुवै समूह एमालेको संस्थापन पक्ष मानिन्छन् ।