वीरगन्ज । पर्साको पोखरीया नगरपालिका-९ मा मधेस माटो पार्कको शनिबार शिलान्यास गरिएको छ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संयुक्त रूपमा उक्त पार्कको शिलान्यास गरेका हुन्।
मधेस प्रदेश सरकारले उक्त पार्कमा हाल बाउण्ड्री वाल (पर्खाल) र मुख्य प्रवेशद्वार निर्माणका लागि चालू आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरिसकेको छ।
पोखरियामा निर्माण गर्न थालिएको पार्कलाई मधेसको एकता, पहिचान र गौरवको प्रतीकका रूपमा विकास गर्ने लक्ष्य लिएको अध्यक्ष राउतले बताए। उनका अनुसार उक्त पार्कमा मधेस प्रदेशका १३६ वटै पालिकाका ऐतिहासिक, सांस्कृतिक र पहिचान झल्काउने धार्मिक एवं ऐतिहासिक स्थलबाट संकलन गरिएको माटो स्थापना गरिनेछ।
अध्यक्ष राउतले केही वर्षअघि सञ्चालन गरेको “माटो यात्रा” अभियान अन्तर्गत मधेस प्रदेशका विभिन्न ठाउँको माटो संकलन गरेका थिए। त्यही माटोलाई पार्कमा स्थापित गरिने बताइएको छ।