वीरगन्ज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी चोकस्थित मारिया मनि ट्रान्सफर रहेको घरको छानामा एक युवक मृत अवस्थामा फेला परेका छन् । जस्तापाताले छाएको छानामा अंदाजी २२-२३ वर्षका आइतबार बेलुका युवकको शव फेला परेको हो । शव फेला परेका युवकको पहिचान भने खुल्न सकेको छैन । शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।
भदौ १७ गते बिहीबार राति लंगडीमै रहेको एनआइसी एसिया बैंकको उपशाखामा चोरी भएको थियो । त्यहि बैंक नजिकको मनि ट्रान्सफर भएको घरको छानामा आइतवार बेलुकी युवकको शव फेला परेको हो । मृत भेटिएका युवक बिहीबार राति एनआइसी एशीया बैंकमा भएको चोरी गर्ने समूहकै हुनसक्ने स्थानीयले आशंका गरेका छन् । “रिन्च हाथमा रहेकाे अवस्थामा शव भेटिएकाे हाे । शव फेला परेकाे मानिसकाे गाेजीबाट चक्कु समेत बरामद भएकाे छ । शवकाे प्रकृति हेर्दा चाेरी गर्न छिर्न चाहेकाे हुन सक्छ । अनुसन्धान अगाडी बढाएका छाैं । अनुसन्धानपछि सबै कुरा खुल्छ ।”
बैंकमा चोरी गर्ने समुहले मनी ट्रान्सफरमा समेत चोर्ने क्रममा छानाको जस्तापाता उप्क्याएर भित्र छिर्न लाग्दा करेन्ट लागेर ती युवकको मृत्यु भएको हुन सक्ने स्थानीयको आशंका छ । शव सडेर गन्हाउन थालेकाले पनि घटना दुई तीन दिन पहिलकै (बिहीबार राति कै) भएकाले थप आशंका उत्पन्न भएको प्रहरीले जनाएको छ ।
शवको प्रकृति हेर्दा ती युवक मनि ट्रान्सफरको कार्यालयमा चोरी गर्न गएको र करेन्ट लागेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसंधान थालिएको प्रहरी उपरीक्षक पाण्डले जानकारी दिए ।
गत बिहीबार राति लंगडीमै रहेको एनआइसी एशिया बैंकको शाखा कार्यालयमा चोरहरुले बैंकको मुल गेटको सटर नै फोडेर भित्र पसेका थिए ।
बैंकमा जडान गरिएको सिसिटिभी क्यामेरामा कैद भएको भिडियो अनुसार रेनकोट लगाएर आएका दुई जनाले अक्सिजन सिलण्डर सहितको वेल्डिङ मेशीनले सटर काटेर भित्र पसेका थिए । चोरहरुले लकर पनि तोड्ने कोशीश गरेको तर बाहिर सडकमा प्रहरीको गस्ती पुगेपछि चोरहरु आफनो योजनामा सफल हुन नसकेर भागेका थिए ।
बिहीबार राति बैंकमा भएको चोरी र आइतबार बेलुकी मनि ट्रान्सफरमा युवकको शव भेटिएपछि घटना अझ शंकास्पद देखिएकाले प्रहरीले दुवै घटनालाइ जोडेर अनुसन्धान थालेको प्रहरी उपरिक्षक पाण्डेले बताए । दुवै घटनामा भारत र नेपाल दुवै देशका मानिस संलग्न रहेको देखिएको भन्दै उनले भने,‘ छिटटै अपराधीको पहिचान लाग्छ ।