प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार बिहान पन्जाबको आदमपुर एयरबेसमा पुगेका छन्।
त्यहाँ उनले सिपाहीहरूलाई भेटेका छन्।
पाकिस्तानले आक्रमणका बेला आदमपुर एयरबेसलाई निशाना बनाइएको दाबी गरेको थियो।
प्रधानमन्त्री मोदीले आफ्नो एक्स अकाउन्टमा लेखेका छन्- आज बिहान एएफएस आदमपुर गएँ र बहादुर योद्धाहरूलाई भेटेँ। साहस, दृढ संकल्प र निडरताको प्रतीक मानिने मानिसहरूसँग भेट्दा विशेष अनुभव भयो। देश सशस्त्र बलहरूप्रति सधैँ आभारी छ।
अर्कातर्फ मंगलबार जम्मु-कश्मीरको शोपियानमा भएको एक भिडन्तमा तीन जना लश्कर आतंककारी मारिएको दाबी भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।
सोमबार राति जम्मु कश्मीर, पन्जाब र राजस्थानमा ड्रोनहरू देखिएको भारतीय सेनाले जनाएको छ।
केही समयपछि सेनाले कुनै पनि शत्रु ड्रोनबारे कुनै जानकारी नभएको बताएको थियो।
आज सबै ठाउँमा अवस्था सामान्य रहेको बताइएको छ। मे ७ मा अपरेसन सिन्दूर सुरु भएदेखि पाकिस्तानी गोलाबारीबाट ६ सेना र २ बीएसएफ सैनिक मारिएको र ५९ जना घाइते भएको भारतले जनाएको छ।
साथै २८ जना सर्वसाधारणले पनि ज्यान गुमाएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन्।
