काठमाडौं । कीर्ते गरी नक्कली शैक्षिक प्रमाणपत्रदेखि लालपूर्जा समेतका कागजात बनाउने तीन जनालाई नेपाल प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै विभिन्न सरकारी कार्यालय, स्थानिय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गर्ने तीन जनालाई काठमाडौं तारकेश्वर–७ फुटुङ्बाट पक्राउ गरि सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा गोरखा मसेल घर भई हाल तारकेश्वर देवीचोक बस्ने अन्जनी बयलकोटी, ओखलढुङ्गा घर भइ बुढानिलकण्ठ बस्ने निर्मल खड्का र मकवानपुर घर भइ चन्द्रागिरी दहचोक बस्ने अन्जु खत्री रहेका छन्।
पक्राउ परेका अन्जनी बयलकोटीले बिगत ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात कीर्ते गरी प्रयोग तथा प्रचलनमा ल्याउने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।
फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात बनाउन दुई जना सहयोगीलाई मासिक १० हजारदेखि १५ हजारसम्म तलब दिई कार्यालय सञ्चालन गरेको उनले बताए।
बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइ दिने गरेको कुरा अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरूबाट प्रहरीले विभिन्न सरकारी, गैरसरकारी, संघ संस्था तथा पार्टीहरुको छाप तथा व्याक्तिगत दस्ताखत लगाएतका ३ सय ५५ थान स्ट्याम्प र ठूलो संख्यामा नक्कली शैक्षिक, सवारी चालक अनुमति पत्र, जग्गाधनी प्रमाणपत्र, विवाह दर्ता प्रणाणपत्र समेत बरामद गरेको छ।