धनुषा । धनुषाको मिथिला नगरपालिकामा लामो समयदेखि सुकुम्वासी जीवन बिताइरहेका ६४ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । शनिबार ढल्केबरमा आयोजित एक समारोहबिच ती परिवारलाई जग्गाको लालपुर्जा वितरण गरिएको हो ।
साबिक ढल्केबर गाविस–१ देखि ९ सम्म तथा हालका मिथिला नगरपालिका–१, ६ र ७ नम्बर वडामा पुस्तौंदेखि जमिन भोगचलन गर्दै आएका ती परिवारलाई लालपुर्जा प्रदान गरिएको मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले बताउनुभयो । नापी कार्यालय धनुषाको दुई नम्बर नापी टोलीले गाउँब्लक जग्गाको नापजाँच गरी प्रक्रिया तयार गरेपछि लालपुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
नगर प्रमुख महतोले आफ्नो कार्यकालको सुरुवातदेखि नै गाउँब्लकमा बसोवास गरिरहेकाहरूको लगत सङ्कलन गरी लालपुर्जा वितरण गर्ने अभियान चलाइएको उल्लेख गर्नुभयो । उहाँले लालपुर्जा प्राप्तिपछि ती परिवारको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा भूमि समस्या समाधान आयोग धनुषाका अध्यक्ष सुरेश कोइरालाले लालपुर्जा वितरणको प्रक्रियामा राजनीति नगर्न आग्रह गर्दै वास्तविक पीडित र भूमिहीनका समस्या चाँडो समाधान गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । लालपुर्जा पाउनबाट वञ्चित रहेका परिवारलाई पनि चाँडै सम्पूर्ण प्रक्रिया पूरा गरी प्रमाण–पत्र वितरण उहाँले बताउनुभयो ।
मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादवले पुस्तौँदेखि भोगचलन गर्दै आएका गाउँब्लक जग्गाको स्वामित्व प्राप्तिका लागि भएको लामो सङ्घर्ष र सरकारी कर्मचारीको निरन्तर प्रयासको कारण लालपुर्जा वितरण सम्भव भएको बताउनुभयो । लालपुर्जा प्राप्त गरेका स्थानीयवासीले आफ्नो पुर्ख्यौली जग्गामा कानुनी अधिकार प्राप्त भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, विभिन्न वडाका जनप्रतिनिधि, नापी कार्यालयका कर्मचारीलगायत स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।