राजविराज । बेहुलीसँगै आएका नातेदार र अध्ययनका लागि निस्केका दुई जना किशोर वेपत्ता भएका छन । यसरी वेपत्ता हुनेमा एक जना सप्तरीका मोहम्मद फैसल र अर्का छिमेकी जिल्ला सुनसरीका राजा मेहता छन । संयोगवश हराएका दुबै जना १७ वर्षका हुन ।
मो. फैसल बैशाख १७ गते देखी परिवारजनसँग सम्पर्कविहीन छन् भने राजा मेहता जेठ १ गते देखी सम्पर्क विहिन भएको उनका परिवारजनको भनाई छ । दुबै वेपत्ता किशोरका आफन्त यतिबेला खोजी गरिदिन आग्रह गर्दै प्रहरी र अन्य स्थानमा दौडधुपमा ब्यस्त छन ।
आफन्तजन खोजीका लागि भौतारिदै
उनीहरु अहिले प्रहरीका साथै नेपाल तथा भारतमा रहेका आफन्त र चिनजानका सबैमा जानकारी गराउदै भौतारिएका छन । तर कतै फेला नपरेको परिवारजनले जनाएका छन । दुबैका परिवारजनले सप्तरीको इलाका प्रहरी कार्यालय कडोरबोना, इलाका प्रहरी कार्यालय बोदेबर्साइन र जिल्ला प्रहरी कार्यालय सप्तरीमा हुलिया विवरण सहितको निवेदन दिई खोजतलासका लागी आग्रह गरेका छन ।
सप्तरीको बोदेबर्साइन नगरपालिका–३ सारस्वर टोल निवासी मो.फैसल बैशाख १७ देखी वेपत्ता छन । सुनसरीको देवानगंज गाउँपालिका ६ का राजा मेहता भने जेठ १७ गते देखी वेपत्ता छन ।
मो.फैसल विदा सकिएपछी बैशाख १७ गते विसनपुर चौकमा वस चढी उनी अध्यनरत जनकपुृरस्थित इस्लाममियाँ सनफियाँ मदरसाका लागी प्रस्थान गरेका थिए । उनलाई छाड्न संगै आएकी आमा संजिला खातुनले ३ हजार ५ सय रुपैया आवश्यक खर्चका लागी छोराको हातमा दिदै विदाइ गरेर घर फर्केकी थिइन । तर छोरा मदरसामा नपुगेको र बीच बाटो बाटै हराएको थाहा पाएपछी उनी प्रहरी शरणमा पुगेकी थिइन ।
वेपत्ता फैसलका वुआ मुमताज आलम लामो समयदेखी रोजगारीका सिलसिलमा कतारमा छन । उनले आईतवार कतारबाटै फोन सम्पर्क गरेर छोराको अवस्था पत्ता लगाई दिन सबै संग आग्रह गरेका छन ।
समाजसेवी एवं भुमि समस्या समाधान आयोग सप्तरीका सदस्य समेत रहेका मो.अनवर अलीले विद्यालय हिडेको किशोर बाटो बाटै वेपत्ता हुनु चिन्ताको विषय भएको भन्दै खोजतलासमा सबैले सहयोग गर्नू पर्ने बताएका छन ।
यता विहेवारी सकिएपछि फर्किन लागेका जन्ती र बेहुली बोकेको गाडीमा चढेर राजविराज आएका सुनसरीको देवानगंज गाउँपालिका ६ निवासी रमेश मेहताका १७ वर्षिय छोरा राजा मेहता पनि विगत २ दिन देखी वेपत्ता छन ।
राजविराज ९ मलेठबाट गएको जन्ती विहे सम्पन्न भएपछि जेठ १ गते राजविराज फर्किएको थियो । राजा मेहताका काका उमेशका अनुसार जेठ २ गते विहान ९–१० बजेसम्म भतिज मलेठ मै थिए । तर त्यसको केही समय पछि नै उनी सम्पर्क विहीन भए । उनले दिनभर खोजतलास गर्दा पनि फेला नपरेपछी खोजतलासका लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा हुलिया विवरण सहितको निवेदन दिएको बताए ।
उनले पनि खोज तलाशमा सहयोग गर्न सबै संग आग्रह गरेका छन । वेपत्ता दुबै किशोरका आफन्तबाट खोजीका लागी निवेदन आएको र उनीहरुको हुलिया विवरण सबै प्रहरी कार्यालयमा पठाई खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।