काठमाडौं । महिला विश्वकप एसिया क्षेत्रीय छनोट प्रतियोगिताको सुपर ३ मा युएइलाई पराजित गर्दै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । आज थाइल्याण्डमा भएको सुपर ३ को खेलमा युएइलाई ५ विकेटले पराजित गर्दै नेपाल ग्लोबल छनोटमा पुगेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११४ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले ३ बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक नटआउट ३० रन बनाइन् ।
रुबिना क्षेत्रीले २३, सम्झना खड्काले २१, पूजा महतोले १३ रन बनाए । युएइका लागि मिचेल बोथा, सुरक्षा कोटे, वैष्णवी महेश र इशा ओजाले समान १–१ विकेट लिए ।
युएइका लागि कप्तान इशा ओजाले ३९ रन बनाइन् । तीर्था शतीशले २१, हिना होतचन्दानीले २०, लावन्या केनीले १२ रन बनाए । नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट दिइन् । कविता कुँवरले २ र राजमति ऐरीले १ विकेट लिइन् ।
९ टोली सहभागी यो प्रतियोगिताबाट विश्वकपको ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड पुगेका छन् । नेपालले थाइल्याण्डसँग एक खेल खेल्न बाँकी छ तर दुवै टिम छनोट भइसकेकोले त्यो खेल दुवैका लागि प्रतिष्ठाको खेल मात्र हुनेछ ।
विश्वकपको ग्लोबल छनोटमा कूल १० टोली हुनेछन् । यीमध्ये ५ टोलीको छिनोफानो भइसकेको छ । अघिल्लो संस्करणको विश्वकपबाट बंगलादेश र स्कटल्याण्ड सिधै ग्लोबल छनोटमा पुगेका छन् । अमेरिकाको छनोट पतियोगिताबाट अमेरिका नै छनोट भएको छ । एसियाबाट नेपाल र थाइल्याण्ड छनोट भएका छन् ।
अब नेदरल्याण्डमा हुने युरोप छनोटबाट २ टोली, नामिबियामा हुने अफ्रिका छनोटबाट २ टोली र फिजीमा हुने इस्ट एसिया प्यासिफिक छनोटबाट १ टोली छनोट हुनेछन् । यससँगै १० टोलीले ग्लोबल छनोट खेल्नेछन् ।