गाजामा इजरायलले गरेको हवाई आक्रमणमा एक डाक्टरका ९ जना बालबालिकाको ज्यान गएको छ ।
डा. अला अल–नज्जरको घरमा इजरायलले आक्रमण गर्दा उहाँका १० मध्ये ९ जना बालबालिकाको ज्यान गएको उहाँ कार्यरत खान युनिस शहरमा रहेको नासेर अस्पताललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अस्पतालले इजरायली आक्रमणमा परेर डा. नज्जरका श्रीमान् र एक छोरा भने बाँच्न सफल भएका बताएको छ ।
हिजो इजरायली हवाई आक्रमणमा ७० जनाभन्दा धेरैको ज्यान गएको र आज कम्तीमा ६ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले एएफपीलाई बताएको खबरमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयका निर्देशक डा. मुनीर अल्बोर्शले डा. अल–नज्जरका श्रीमान् हम्दी श्रीमतीलाई काममा लगेर घर फर्केको केही मिनेटपछि नै घरमा आक्रमण भएको सामाजिक सञ्जाल एक्समा बताउनुभएको छ ।
हिजो संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजाका मानिसहरूले युद्धको क्रूर चरण भोग्न परेको भन्दै इजरायलले मानवीय सहायतामा लगाएको नाकाबन्दीको निन्दा गर्नुभएको थियो ।
इजरायलले यस हप्ताको शुरूमा आंशिक रूपमा नाकाबन्दी हटाएको छ । इजरायली सैन्य निकाय कोगाटले हिजो पिठो, खाना, चिकित्सा उपकरण, औषधि बोकेका थप ८३ वटा ट्रक गाजा प्रवेश गरेको बताएको छ । तर राष्ट्रसङ्घले यस क्षेत्रका २१ लाख मानिसहरूका लागि यी सहायता पर्याप्त नभएको र प्रतिदिन ५०० देखि ६०० ट्रक आवश्यक पर्ने जनाएको छ ।
गाजाका मानिसहरूले पर्याप्त खाना नभएको र कुपोषित आमाहरूले बच्चाहरूलाई स्तनपान गराउन असमर्थ रहेका बताएका छन् ।