काठमाडौं । नक्कली भारतीय नोट प्रकरणमा कैद सजाय भुक्तान गरी छुटेका बाराका युनुस अन्सारीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अघि बढाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेको हो । नख्खु कारागारबाट ६ वर्ष कैद भुक्तान गरी शनिबार मुक्त भएका अन्सारीलाई सीआईबीले शनिबार नै नियन्त्रणमा लिएको थियो ।
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीले अन्सारीलाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढेको बताए । अन्सारीलाई आइतबार अदालत उपस्थित गराइँदै छ ।
उनी कैद मुक्त हुने भएपछि सीआईबीले अनुसन्धानका लागि उपस्थित गराइदिन कारागार व्यवस्थापन विभागलाई गत बुधबार मात्रै पत्र पठाएको थियो । त्यही पत्रका आधारमा शनिबार कारागारबाट रिहा भएलगत्तै अन्सारीलाई अनुसन्धानका लागि सिआईबीले शनिबार नियन्त्रणमा लिएको थियो ।
अन्सारी पहिलो पटक १३ पुस २०६६ मा २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए । उनी अर्को महिना १७ माघमा कारागार चलान भएका थिए । त्यतिबेला उनी नेसनल टेलिभिजनका अध्यक्ष थिए । ६ असोज २०६७ मा पुनः ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि अन्सारी जोडिएका थिए । त्यसपछि करिब ५ वर्ष कैद सजाय भुक्तान गरेर उनी १८ असोज २०७० मा छुटेका थिए ।
तेस्रोपटक १० माघ २०७० मा पुनः ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी फेरि सजाय भुक्तान गरी छुटे । १० जेठ २०७६ मा पुनः ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परे ।
त्यसपछि उनलाई अदालतले दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो । त्यही कैद सजाय उनले शनिबार भुक्तान गरेका हुन् ।
हिरासतबाहिर राख्दा अन्सारीमाथि ‘सुरक्षा चुनौती’ देखिएकाले अनुसन्धानका लागि हिरासतमै लिनुपर्ने अवस्था आएको प्रहरीका एक अधिकारीको भनाइ छ । अन्सारी भारतीय आपराधिक गिरोहको निसानामा पर्दै आएका छन् । केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका बेलासमेत अन्सारीमाथि भारतीय सुटर मनमित सिंह भनिने मनमित भाटियाले २६ फागुन २०६७ मा गोली हानी हत्या प्रयास गरेका थिए ।साभार : कान्तिपुर